• २०८१ बैशाख ६ बिहीबार

प्रधानसेनापतिले भने— द्रुतमार्ग सेनाले मागेको होइन, राष्ट्र र जनताले दिएको जिम्मेवारी हो 

kharibot

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेना दिवसको अवसरमा सेनाका सकल दर्जालाई शुभकामना सन्देश दिएका छन् । मंगलबार परेको शिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा क्षत्रीले सेनामातहतका सकलदर्जा, सेवारत निजामती कर्मचारी, सैनिक परिवारलाई शुभकामना दिएका हुन् । त्यस्तै क्षत्रीले देश र जनताका लागि प्राण त्याग गरेका सैनिकहरुप्रति आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइते सकलदर्जाको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् । 

प्रधानसेनापतिले के के भने ? 

राष्ट्रिय अखण्डताको रक्षा गर्न सदैव तत्पर 
सन्देशमा क्षत्रीले समयानुकुल परिवर्तनलाई सेनाले आत्मसात् गरेको भन्दै सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्न सधैँ तत्पर रहेको बताएका छन् । उनले पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरुको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बांकी नराख्न समेत मातहतमा निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘आफ्नो गौरवमय इतिहास, मौलिकपना, प्राचीन गाथा, पूर्खाले स्थापना गरेको मुल्य मान्यता र देशभक्ति प्रति गर्व गर्दै नेपाली सेना कठिन भन्दा कठिन परिस्थितिमा पनि संविधान निर्दिष्ट कार्यहरुको परिधिभित्र रही राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको उल्लेख गर्नु भएको छ ।’ 

फाष्ट ट्रयाक 
सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाण्डौं–तराई÷मधेश द्रुतमार्ग निर्माण परियोजना समयमा नै सम्पन्न गरेर उदाहरणीय बन्ने मौका पाएको सेनापतिले उल्लेख गरेका छन् । उनले नेपाली सेनाले यसलाई सु–अवसरको रुपमा लिएको उल्लेख गर्दै परियोजना सेनाले मागेको भन्दा नि देश र जनताले दिएको जिम्मेवारी भएको बताएका छन् । उनले आयोजना लक्षित समयसीमाभित्र तोकिएको मापदण्डमा कुनै सम्झौता नगरी निर्माण सम्पन्न गर्नसमेत संलग्न सबैलाई निर्देशन दिएका छन् । 

विश्वसनीय छवि 

सेनापति क्षत्रीले नेपाली सेनाले संविधान कार्यान्वयनको क्रममा नेपाल सरकारबाट घोषित सबै तहका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगबाट सम्पन्न गर्न अन्य सुरक्षा निकायहरुसँगको सहकार्यमा प्राप्त जिम्मेवारी प्रशंसनीय ढंगबाट पूरा गरी एक विश्वसनीय फौजको छवि कायम राख्न सफल भएको भन्दै सबै तहका कमाण्डर, स्टाफ लगायत सकलदर्जाहरुलाई धन्यवाद दिएका छन् । 

सैन्य संरचनामा समयसापेक्ष परिवर्तन 
उनले नेपाली सेनाको संरचनालाई समयसापेक्ष तुल्याउन परिमार्जित पुनर्ढांचा र पुनर्संन्तुलनका योजनाहरु नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भएर कार्यान्वयनको चरणमा रहेको बताएका छन् । यसले नेपाली सेनाको संरचनामा देखिएका कमी कमजोरीलाई सन्तुलित बनाउन र देशको संघीय संरचनाअनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनीहरु स्थापना भई तैनाथ भइसकेको उनको भनाइ छ । 

विपद् व्यवस्थापन 

उनले नेपाली सेनाको विपद् व्यवस्थापन जिम्मेवारीलाई थप व्यवस्थित बनाउन बहुराष्ट्रिय सैनिक समन्वय केन्द्र सम्बन्धी कार्यविधि अनुरुप आपतकालीन अवस्था सर्च एण्ड रेस्क्यु अपरेनस समन्वयात्मक रुपमा सञ्चालन गर्ने व्यवस्था स्थापित गरिएको बताएका छन् । उक्त सन्देशमा नेपाली सेनाले हासिल गरेका शून्य शिकार बर्षहरु जैविक विविधता संरक्षणको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नै प्रशंसनीय रहेको बताउँदै प्रकृति संरक्षणको महत्वपूर्ण जिम्मेवारीमा खटिएका सकलदर्जाले उच्च अनुशासन र दृढताका साथ अहोरात्र खट्टिई संरक्षित क्षेत्रमा (निकुञ्ज र आरक्ष) हासिल भएका सफलताहरुको लागि सम्बद्ध सकल दर्जाहरुलाई धन्यवाद दिएका छन् । सोही क्रममा उनले हरियाली अभियान ज्यादै प्रभावकारी भएकोले यसलाई जनस्तरसम्म विस्तार गर्न जनचेतना अभियान संचालन गर्दै लगिने समेत बताएका छन् । 

पारदर्शिता  
नेपाली सेनाको खरिद तथा आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाई चालू आर्थिक वर्षबाट सम्पूर्ण खुल्ला बोलपत्रहरु इ बिडिंगमार्फत गरिंदै आएको उल्लेख गर्दै ठूलो मात्रामा विदेशबाट खरिद गर्नु पर्ने सामानहरु पारदर्शी गर्न सरकार—सरकार जीटुजीमार्फत खरिद गरिने प्रक्रियालाई प्राथमिकता दिइएको उल्लेख गरेका छन् । साथै, उनले सैनिक सामग्रीहरुको परनिर्भरतालाई हटाई स्वदेशमा नै उत्पादन गर्दै जाने लक्ष्यअनुरुप समय सापेक्ष पहिरन सामग्री शाखा र सुन्दरीजल आर्सनल कार्यालयलाई आधुनिकीकरण गर्दै लगिएको शुभकामना सन्देशमा उल्लेख छ । 

सैनिक कूटनीति 
क्षत्रीले मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्धलाई अझ विस्तार गर्न सैनिक कुटनीतिलाई थप मजबुद तथा सुदृढ गर्न मित्रराष्ट्रका सैनिक संगठनहरुसँगको सहकार्यमा विशेष जोड दिइएको उल्लेख गरेका छन् । उनका अनुसार विभिन्न राष्ट्रका सेनाहरुसँग तालिम आदानप्रदान गरिँदै आएको र त्यसलाई थप जोड दिइएको उल्लेख गरेका छन् । 

शान्तिसेनाको संख्या बढाउन पहल 

त्यस्तै उनले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यमा नेपाली सेनाको संख्या क्रमशः बढाउँदै लैजाने लक्ष्य अनुरुप शान्ति स्थापना कार्यमा कुल दरवन्दीको १० प्रतिशतसम्म शान्ति सैनिक पठाउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको तथा यसै क्रममा विभिन्न मिसनअन्तर्गत सिरिया, लिबिया लगायतका देशमा सेना तैनाथ भएको उल्लेख गरेका छन् । 

एकता 

सन्देशमा उनले नेपाली सेनाको गैरराजनैतिक चरित्रमा असर पार्न सक्ने विविध प्रकृतिका दबाब र परिघटनाहरुले फौजको एक ढिक्कापन, सामाजिक न्यायको सिद्धान्त र विश्वासका आधारहरु टुट्ने सम्भावनाहरु प्रति पनि नेपाली सेना सधैं सजक रहनुपर्ने उल्लेख बताएका छन् । यसले नेपाली सेनाको आधार स्तम्भको रुपमा रहेको अन्तर्निहित चेन अफ कमान्डलाई पनि असर पार्ने भएकोले यस्ता कार्य गर्ने गराउने जो सुकै भएपनि कारवाहीको भागिदार हुने समेत उल्लेख गरेका छन् ।  

सेना दिवसको पूर्वसन्ध्यामा हरेक सेनापतिले सन्देश जारी गर्ने गरेका छन् । सोही अनुसार क्षत्रीले पनि सार्वजनिक सन्देश जारी गरेका हुन् । देशको प्रधानसेनापतिले आफ्ना सैनिकहरुलाई दिएको सन्देशले महत्वपूर्ण अर्थ राख्ने गर्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै