• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश नं २ को प्रदेशसभा दोस्रो बैठक सम्पन्न

kharibot

फाइल तस्बिर

जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठक आज सम्पन्न भयो । 

दिउँसो १ः५५ बजे शुरू भएको बैठक २ः०५ बजे सकिएको हो । निर्धारित समय भन्दा ५५ मिनेट ढिलो गरी शुरू भएको बैठक १० मिनेटसम्म बसेको थियो । 

बैठकको अध्यक्षता गर्नु भएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादवको प्रदेश नं २ को नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहेका सदस्यहरूको नामावलीसहितको प्रस्तावलाई बैठकमा निर्णायार्थ प्र्रस्तुत गर्दा सर्वसम्मतिले सो प्रस्ताव पारित गरिएको थियो । 

सो समितिमा प्रदेशसभा सदस्य रामआशिष यादव, सञ्जयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डा डिम्पलकुमारी झा, रमेशप्रसाद कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलीपकुमार साह, सावित्री देवी साह र शेष अबुलकलाम आजाद रहेका छन् । 

प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादवले नियमावली मस्यौदा समितिमा रहनु हुने सदस्यहरूको नामावलीको प्रस्ताव बैठकमा प्रस्तुत गर्दा प्रदेशसभा सदस्यहरू मनिष सुमन, प्रमोदकुमार यादव, शोभा लामा, ज्वालाकुमारी साह, सावित्रीदेवी साह र अबुलकलाम आजादले समर्थन गर्नु भएको थियो । 

प्रदेशसभाले कार्य सञ्चालन, बैठकको सुव्यवस्थापन, समितिहरूको गठन, काम कारबाही र अन्य कुरा नियमित गर्न र सभाको काम कारबाहीलाई प्रभावकारी र समय सापेक्ष बनाउन मद्दत र नियमावली निर्माणमा आइपर्ने अन्य कार्य गर्ने सो समितिको कार्य क्षेत्र रहेको छ । 

ज्येष्ठ सदस्य चौधरीले कार्य व्यवस्था परामर्श समितिले पुरूष मर्यादा पालकलाई क्रिम कलरको सफारी सुट र महिला मर्यादापालकलाई क्रिम कलरको साडी र चोलो १५ दिनभित्र व्यवस्थापन गर्न निर्णय गरिएको जानकारी गराए । 

त्यस्तै, कार्य व्यवस्था समितिद्वारा प्रदेशसभामा मधेश आन्दोलन र जनयुद्धका शहीदको प्रतीकात्मक तस्बिर राख्ने निर्णय गर्नुका साथै आजको बैठकको कार्यसूचीमा राखिएको उपसभामुखको निर्वाचनको तिथि तोकिने प्रस्तावलाई कार्यसूचीबाट हटाइएको उनले जानकारी गराएका थिए । 

प्रदेशसभाको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ । 

प्रदेश नं २ का प्रदेशसभाका मर्यादापालकका लागि क्रिम कलरको पोशाक निर्धारण गरिएको छ । कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । 

समितिका सदस्य रामसरोज यादवका अनुसार पुरूष मर्यादापालकका लागि गर्मी याममा क्रिम कलरको सफारी सुट र जाडो याममा सोही कलरको वण्डी इस्टकोट, स्वेटर तथा महिला मर्यादा पालकका लागि क्रिम कलरको साडी र चोलो पोशाक निर्धारण गरिएको छ । १५ दिनभित्र सो पोशाकको व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ । 

यसअघि सर्वदलीय बैठकद्वारा प्रदेशसभा सदस्यको पोशाकमा खैरो रङको बण्डी निर्धारण गरिएकामा आजको कार्य व्यवस्था परामर्श समितिको बैठकले सो रङ परिवर्तन गर्ने निर्णय गरेको छ । समितिले प्रदेशसभा सदस्य शत्रुघन महतोलाई प्रदेशसभा सदस्यको पोशाकको रङ चयन गर्न जिम्मेवारी दिएको छ । 

त्यस्तै, प्रदेशसभामा मधेश आन्दोलन र जनयुद्ध प्रदेशका शहीदका प्रतीकात्मक तस्बिर राख्ने निर्णयसमेत गरिएको छ । यसअघि माघ २१ गते प्रदेशसभाको पहिलो बैठकमा प्रदेशसभामा मधेशका आन्दोलनका शहीदका तस्बिर नराखिएकोमा मधेशवादी दलका प्रदेशसभा सदस्यहरूले बैठक अवरूद्ध गरेका र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले जनयुद्धका शहीदका तस्बिर राख्नुपर्ने माग गरेकामा आजको कार्य व्यवस्था समितिले मधेश आन्दोलनका शहीद र जनयुद्ध प्रदेश का शहीदको तस्बिर राख्ने निर्णय गरेको जनाइएको छ । 

कार्यव्यवस्था परामर्श समितिमा ज्ञानेन्द्रकुमार यादव, योगेन्द्र राय यादव, सुरिताकुमारी यादव, मनिष सुमन, शत्रुघन महतो, प्रमोदकुमार यादव, रामसरोज यादव, रामकुमार यादव, ज्वालाकुमारी साह, सावित्रीदेवी साह र शेख अबुल कलाम आजाद रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै