• २०७९ श्रावण ३० सोमबार

भर्खरै

भगवान शिव या 'सि मे'

kharibot

देवता या ईश्वरकाे श्राेत शक्ति हाे । शक्तिका आधारमा वेदमा ३ प्रकारका देवकाे उपस्थिती छ, अदृश्य, प्राकृतिक र अर्धप्राकृतिक, र मानविकृत । अदृश्य देव या ईश्वरकाे रूपमा ब्रम्ह (ब्रम्हा) लाई लिइएकाे छ । ब्रम्हाण्ड, प्रकृति र चराचरकाे श्रृष्टिकर्ता ब्रम्ह अगाेचर छन्, यसैले ब्रम्हकाे कुनै रूप, गुण, आकार छैन, ज्ञानेन्द्रियकाे शक्ति बाहिरकाे याे महाशक्ति सर्वव्याप्त छ । याे अदृश्य महाशक्तिलाई हरेक धर्ममा स्वीकार गरिएकाे छ ।

बुद्धले यसलाई केवल प्रकृति भनेर अधिक ब्याख्या गरिरहन आवश्यक ठानेनन्, यसैलाई इस्लामले पनि आत्मसात गरेर "अल्लाह" मात्र भन्याे, इसाईले पनि आत्मसात गरेर "हाेलि फादर" भन्याे । तर पछि अदृश्य श्रृष्टिकर्ता शक्तिलाई सादृश्य बनाउने प्रयासमा उपमा, अलंकार र भाैतिक रूप दिएर व्याख्या गर्न खाेज्दा हरेक धर्ममा अनेक नामका श्रृष्टिकर्ता जन्मिन गए ।

प्राकृतिक देवमा अग्नि, वायु र सूर्य  आदि विशुद्ध प्राकृतिक देव हुन् । यी प्राकृतिक शक्ति हुन्, यी देवहरू समसादृश्य छन्, ज्ञानेन्द्रियबाट महशुश गर्न सकिन्छ । यस बाहेक उषा, पर्वत, नदी, पितृ र मेघलाई पनि यसै वर्गमा देव समान स्तुत्य मानिएकाे छ । यी देवहरूलाई उपमाका रूपमा हरेक धर्ममा विभिन्न देवसँग तुलना मात्र गरिएकाे छैन अपितु समागम समेत गरिएकाे छ, जस्ताे कि इन्द्रलाई वर्षासँग । 

ऋग्वेद कालपछि आर्यहरूमा थप जातिहरू मिसिन पुगे, तिनीहरूका थुप्रै प्रचलनहरू गाभिन पुगे । माधवीयहरूको अभ्युदयपछि वेदमा इन्द्रको गरिमा धुमिल हुँदै गयो । ऋग्वेद कालपछि आर्यहरूको स्थानीय अनार्य जातिहरूसँग रक्त समिश्रण बढ्दै गयो । ऋगवैदिक आर्यहरू पशुपालक थिए । यी आर्यहरूको सम्बन्ध धेरै अगाडि नै हिमाली भेगभन्दा परका (उत्तर कुरु) जातिहरूसँग भइसकेको थियो । त्योभन्दा दक्षिणतिर हिमवतखण्ड (त्रिविष्टप (तिब्बत) सहितकाे कर्णाली भेग) र त्यसको पश्चिमका पहाडी किरात, गन्धर्व, यक्ष आदि अनार्य जाति पनि प्रकृति पूजक नै थिए जसको साइनो हडप्पा सभ्यतासँग पनि थियो । ऋग्वेद कालको सुरुवातमा यी प्रकृति पूजकहरूलाई आर्यहरू घृणा गर्दथे, किनभने यी प्रकृति पूजक लिङ्ग पूजा गर्दथे । ऋग्वेदको एक ऋचामा इन्द्रसँग प्रार्थना गरिएको छ, "हे देव ! जो लिङ्गलाई देवता मान्दछन्, तिनलाई हाम्रो सीमामा प्रवेश गर्न नदेऊ ।"

लेखक: विपुल सिजापति


दैत्य, यक्ष, राक्षस, गन्धर्व, नाग, सर्प, किन्नर, निषाद, व्याधा, ब्रात, किराँत, कुलाल, आदि जातिहरू हिमवतखण्डका पूर्ववैदिक अनार्य जातिहरू थिए । यक्ष तथा राक्षसको बलि मासु र मदिरा थियो, अर्थात् यिनीहरू प्रकृति पूजामा मासु र रक्सी चढाउँथे, यसैले यिनीहरू प्रकृति पूजक थिए । रक्सी, मासु आदि चढाएर पूजा गर्ने प्रचलन (तामसी पूजा) खस, नेवार र किरात आदिमा अझै हुनुको कारण यी जाति पहिला प्रकृति पूजक भएकाले नै हो । यक्षलाई पद्यपाणि भनिएको छ, बौद्धलाई बज्रपाणि । यिनै यक्ष (चीनमा याचे) पछि गएर बुद्धका रक्षक पनि भए र परिवर्तित कालमा बोधिसत्त्व ब्रजपाणि कहलाए । यस आधारमा पद्यपाणी बौद्ध कालभन्दा अगाडि प्रचलित कुनै प्रकृति उपासना (सम्भवत बाेन नै) हुन सक्छ ।

बाैद्धमार्गी र शैवमार्गी दुबैले समान रूपमा मदिरा समेत चढाएर पूज्ने महाङ्काल (न्यूराेडमा आर्मी अस्पताल अगाडिको महाङ्काल) यिनै हुन् । गन्धर्व जाति मुजवंत पर्वतमा बस्दथे । देव जाति यिनीहरूसँग सोम (गाँजा, भाङ) किन्थे । वेदमा साेमरस बनाउने तरिका र पहाड र तराईमा घाेट्टा (गाँजा पिसेर यसमा खुवा र ड्राइ फ्रुट्स काजु बदम पेस्ता पिसेर मिसाई दूधमा घाेल्ने) बनाउने तरिका उस्तै छ । यजुर्वेदमा रुद्रलाई यही मुजवंत पर्वतमा धनुष सहित जाने कामना गरिएको छ । यस अर्थमा रुद्र मुजवंत पर्वततिर बस्दथे भने गन्धर्व या अन्य अनार्य जातिका थिए । यसैले ऋग्वेदमा रुद्रलाई आकाशका असुर (पहाडकाे टुप्पामा बस्ने अनार्य) भनिएको छ । ऋग्वेदका केही सूक्तहरूमा रुद्रलाई “मरुत्” अर्थात् “वायुदेव” सँगै स्तुति गरिएको छ । मरुतकै कारण आँधी, हिमपात, घोर वर्षा र बज्रपात (चट्याङ्ग या उज्ज्वल वाण) हुने गर्दछ । यी सबै प्रकृति स्पष्ट रूपमा उच्च पहाडसँग सम्बन्धित छ, त्यसैले ऋग्वेदमा रुद्रलाई “गिरित्र” अर्थात् पहाडमा बस्ने र “गिरीश” अर्थात् पहाडका मालिक भनिएको छ ।

विष्णु जस्तै रुद्र पनि ऋग्वेदमा गौण देवका रूपमा देखिन्छन् । ऋग्वेदमा रुद्रका जम्मा तीन सूक्तहरू छन् । यसदेखि बाहेक केही सूक्तहरूमा रुद्रलाई मरुतहरूसँगै भएको वर्णन गरिएको छ । ऋग्वेदमा वर्णित रुद्रको सम्बन्ध यसपछिका शिव, शङ्कर या महादेवसँग स्पष्ट रूपमा छैन । तथापि रामायणमा रुद्रको बारेमा लेखिएको वर्णन भने अति महत्त्वपूर्ण छ । रामायणमा रुद्रलाई "इन्द्रको साथी, शिव तथा शिव पुत्रको सेवक र यमको मित्र" भनिएको छ । यसबाट के स्पष्ट हुन्छ भने रुद्र र शिव दुई फरक अस्तित्वका थिए, रुद्र शिवका सेवक थिए, युद्ध गर्ने भएकाेले सम्भवतः शिवका सेनानायक थिए जसले इन्द्रलाई सहयाेग गरेकाले रामायणमा साथी भनियाे । 

वैदिक काल पूर्वदेखि किँरातहरूले पूज्दै आएका सिमे या शिमे (सि, शि देवता) भुमे (भू देवता) मध्ये सि, शि लाई चट्याङ्ग र पानीको देवता मानिन्छ भने भू पृथ्वी । किरातहरूको सिमे, शिमे भुमे अझै नेपालमा पश्चिमदेखि पूर्वसम्म झाँक्रीहरूले मान्दै आएका छन् । सिमे, शिमे र भुमे कर्णाली प्रदेश हुँदै तिब्बती क्षेत्रसम्म सि, स्युँ या शिउ नामले बोलाइन्थ्यो । दोलखामा जिरेल र सुरेलहरू शिवलाई श्यु देउ (श्यु देव) नै भनेर पूजा गर्दछन् । सि, शि ठेट किराँती शब्द हो, किरातहरू प्रकृति पूजक हुन्, उनीहरूले पुज्ने कुनै प्रकृति देव सि या शि नै शिव हुन भन्ने स्पष्ट देखिन्छ ।

पहाडमा बस्ने किँरातहरूका सिमे या शिमे देव जो चट्याङ्ग र पानीका प्राकृतिक देवता थिए, लाई नै ऋग्वेदमा गिरित्र र चट्याङ्ग पनि भनिनुले यसलाई अझ प्रमाणित गर्दछ । ऋग्वेदमा रुद्रलाई कपर्दी (माथिदेखि तलसम्मको लामो चोँगा जाे झाँक्रीले लगाउँछन् र  बख्खु, जो शेर्पाहरू लगाउँछन् आदिम लुगा हाे) र जटाधारी (उच्च पहाड र हिमालतिर पुरुषहरू अझै जुरो बान्छन्, झाँक्री जटा राख्छ) भनिएको छ, यो पनि किरातहरूको झाँक्रीहरूको भेषभुसासँग मिल्दछ । झाँक्रीहरूले बजाउने ढ्याङ्ग्राे र तिब्बतका बाैद्धमार्गीहरूले बजाउने ढ्याङ्गाे तथा जापान, काेरिया आदि देशमा बुद्धमागी तथा बाेनहरूले बजाउने ढ्याङ्ग्राेमा सामान्य रूप मात्रै फरक छ, यसकाे मूल श्राेत एकै हाे जुन किराँतसँग जाेडिन्छ ।

शिवसँग जोडिएको भाङ, धतुरो, उनका गणहरूका भूत, प्रेत, पिसाच (झाँक्री) आदिलाई ध्यान दिने हो भने शिव द्रविडहरूभन्दा कता हो कता किरातहरूसँग जोडिन्छन् । शिवलाई किरातेश्वर भन्नुको कारण पनि यही हो । रुद्रलाई "शिव तथा शिव पुत्रका सेवक" भनिनुले शिव अवश्य कुनै देव थिए भने ऋग्वेदमा देखिएका रुद्र यिनै शिवका प्रतिनिधि मात्रै थिए । रुद्र कालान्तरमा “शिव” हुँदै जानुको वास्तविक आधार यही हो ।

बोन धर्म प्रकृति पूजासँग सम्बन्धित छ । बोनमा पृथ्वीलाई माता भनेर पूजा गरिन्छ । आदिम गणतन्त्रमा आमा प्रमुख हुने चलन थियो, मातृसत्तात्मक समाज थियो जुन महाभारत कालसम्म पनि स्पष्ट देख्न सकिन्छ । मातृसत्तात्मक समाज प्रकृति पूजक भएकोले हरेक गतिबिधि प्रकृतिसँग जोडिन्थ्यो । कृषि उपज प्रकृतिकै देन ठानिन्थ्यो भने पशुबृद्धिलाई पनि प्रकृतिसँगै लगेर जोडिन्थ्यो । सरल शब्दमा भन्नु पर्दा हरेक जीवजन्तु तथा वनस्पतिको श्रष्टिको मूलमा भाले र पोथीको समागमबाट नै सम्भव भएको ज्ञान पाएका यी प्रकृति पूजकहरूले पुरुष लाई शिव र नारीलाई शक्तिको रूपमा स्विकारेर पूजा गर्न थाले । विश्वका हरेक आदिमा सभ्यतामा देखिएका नारी चित्र मूर्ति या तिनका अवशेषहरू शक्ति उपासनाकै परम्परा हो । शिवशक्ति मान्नेहरूले प्रत्यक्ष रूपमा देखेको चराचर श्रष्टिको मूल भालेपोथि जनेन्द्रिय नै थियो, उनीहरूले त्यसैको पूजा गर्न थाले, भालेपोथि जनेन्द्रियको समागमपछि नै श्रृष्टि हुने भएकोले दुवैको समागम गराएर (शिवलिंग) पूजन गर्न थाले जसलाई आर्यहरूले शिश्न पूजा भने र पुज्नेलाई शिश्नपूजक । शिश्न पूजा अद्यापि संसारमा विभिन्न रूपमा प्रचलित नै छ । गर्भ धारण गर्न नसकेकी महिलाले महिनावारी चाेखिएपछि सन्तानेश्वर महादेवकाे पूजा गरेर लिङ्गमा याेनी रगडेपछि सन्तान हुन्छ भन्ने धारणा अझै छ ।

यसैले सन्तानेश्वर महादेवकाे मूर्तिमा उत्तेजित लिङ्ग बनाईएकाे हुन्छ (त्रिपुरेश्वरकाे पूर्णेश्वर मन्दिर परिषद भित्र यस्तै मूर्ति छ, यहाँ याेनी रगड्न नसके पनि लिङ्गमा हात दलेर याेनिमा छुने चलन छ । उषाकाल अघि अँध्यारो मै गरिने यस विधिकाे पूजा गर्ने चलन र विश्वास अझै छ) । याे प्रचलन प्रकृति पूजकबाटै लिइएको हाे । कैलाश पर्वत प्राकृतिक रूपमै विशाल शिवलिङ्ग आकारमा अवस्थित छ, यसैलृ हिन्दु, वाेन, तिब्बती र बाैद्धमार्गीहरूका लागि पनि कैलाश अझै पूज्य र पवित्र छ। कैलाश, महामातृका, योनि र लिङ्ग पूजन तिब्बती क्षेत्रका आर्यहरूको आदिम प्रकृति पूजा थियो जसको लहरो सिन्धु सभ्यतासम्म पुगेको थियो । महेन्जोदडोको उत्खननबाट प्राप्त भएका सामग्रीहरूलाई सिधा शिवसँग जोडेर हेर्न भन्दा बोन धर्मसँग जोडेर हेर्दा उपयुक्त देखिन्छ । उत्खननबाट प्राप्त भएको एउटा तीन मुखे शिरवाला पुरुष भएको बीचको शिरबाट एउटा फूल बिरुवा लत्रिएको देखिन्छ ।

यो उब्जनी वा प्रजननसँग सम्बन्धित देव प्रतीत हुन्छ (आर.सी. मजुमदार– वेदिक एज) । तीनमुखा सिङ समेतका पहिरनका र योगासनमा रहेका देव (गणपतिले सिङ सहितकाे मुकुट लगाउने प्रचलन आदिम र प्राकृतिक संस्कार हो) उब्जनी अर्थात् प्रजनन देवको प्रतीक हुन्छ । अनार्यका शिश्नदेव नै सम्भवतः उब्जनी देव थिए, जसलाई ऋग्वेदका ऋषिहरूले रुद्रका “वृष” रूपसँग तादात्म्य गराए । यसैले सिन्धुघाँटीको  सभ्यतासँग आर्यहरूलाई जोडेर या आर्यहरूका देवताहरू मूलतः शिव (रुद्र) सँग जोडेर हेर्नु गलत हुन्छ । मोहनजोदडो र हरप्पा क्षेत्रमा वैदिक आर्य आउनु अगाडि नै द्रविड, किरात आदि जातिहरू आएर बसिसकेका थिए र यहाँ बोन धर्मको छाप देख्न सकिन्छ । यसरी हेर्दा वैष्णव मत स्वैरकाल्पनिक देखिन्छ, वैष्णवालम्बीहरू कल्पित वैकुण्ठ या मोक्षको कामना गर्दछ भने शैव मत प्रत्यक्ष प्रकृतिसँग सम्बन्ध राख्दछ । यसैले शैवमार्गिहरू मृत्यु पश्चात् शिव शक्तिमा विलीन हुने कामना गर्दछन्, कैलाशमा समाहित हुने इच्छा राख्दछन् ।

सारांशमा भन्नु पर्दा विष्णु र कपर्दी रुद्र ऋग्वेदमा गौण छन् । विष्णु या रुद्रलाई ऋग्वेदमा गणपति या सेनापतिको रूपमा उभ्याइएको छ । वेद अनुसार विष्णुले जब यज्ञ (युद्ध पश्चात् विजित क्षेत्र र धन) एकलौटी गर्ने चेष्टा गरे तब त्यसलाई तीन भाग लगाएर इन्द्र, विश्वदेव र अग्निले बाँडेर लिए । यज्ञ एकलौटी गर्न खोजेको आधारमा विष्णु वेतनधारी योद्धा देखिन्छन् । रुद्रलाई "शिव तथा शिवका सन्तानको सेवक" भनिएबाट रुद्र पनि शिव (सि मेका) प्रतिनिधि मात्र हुन्, शिव नै होइनन्, शिव त किराँतहरूकाे सि मे हुन् । किराँतहरूले आदिम देव "सि मे" काे बारेमा अझ अनुसन्धान गर्नु आवश्यक छ ।
 

पढ्नै पर्ने

लोकप्रिय