• २०८१ बैशाख ७ शुक्रबार

संगठित हुँदै च्याउ उत्पादक कृषकहरु

kharibot

काठमाडौं । नेपालमा उत्पादन भएको च्याउलाई ओझेल पार्न अन्तर्राष्ट्रिय बजारबाट च्याउ भित्रन थालेपछि ललितपुरका च्याउ उत्पादक कृषकहरु संगठित हुन थालेका छन् । उनीहरुले पटकपटक व्यापारीसँग वार्ता गर्दा अन्तर्राष्ट्रिय वजारबाट च्याउ नल्याउने सहमति भएपनि नरोकिएकाले संगठित हुनुपरेको बताएका छन् । 

च्याउमा नेपाली बजार आत्म निर्भर हँदाहुँदै पनि व्यापारीहरुले च्याउको आयात गर्न थालेपछि स्थानीय किसानहरु संगठित हुनुपरेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । ‘अन्य खेतीभन्दा छिटो र सरल तरिकाबाट उत्पादन लिन सकिने भएकाले नेपालमा दिनानुदिन यो च्याउ व्यवसायमा लाग्ने किसानहरुको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘यसको खेतीका लागि मल, माटो र सिँचाईको खासै आवश्यकता नपर्ने भएकाले थोरै जमिन भएका निम्न वर्र्गीय किसानले सानो टहरा बनाएर खेती गर्दै आएका छन् ।’ 

नेपालमा च्याउ उत्पादक कृषकलाई लगानी बढाउन र आधुनिक खेती विस्तार गर्नसक्ने योजना ल्याएर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न पनि कृषकहरुले सरकारसँग माग गरेका छन् ।  गोदावरी नगरपालिकाको वडा नम्बर ११ को सेराकोट, वडा नम्बर १० को चापागाउँ र १३ को झरुवारासी, १२ को ठेँचो क्षेत्रमा रहेका च्याउ कृषकको भेलाले ‘ललितपुर जिल्ला च्याउ उत्पादन संघ’ गठन गरेर आफ्ना हक अधिकार सुनिश्चित गराउन लागिपरेका छन् । सो क्षेत्रमा हाल २५० जना किसानहरुले करिव १२ सय रोपनी क्षेत्रफलमा च्याउ खेती गर्दै आउका छन् । खेतीबाट मासिक औसत् १ हजार ५ सय किलोग्राम च्याउ उत्पादन हुने कृषकको भनाइ छ । 

संघले च्याउ खेती विग्रने र ठूलो घाटा व्यहोर्नुपर्ने भएकाले विमा गराउने, कृषकलाई गुणस्तरीय विउ उत्पादन गराउने, व्यावसायिक च्याउ खेतीका लागि अनुदान उपलब्ध गराउने, सहुलियत ऋणका लागि बैंक तथा सहकारीमा पहल गर्ने र आवश्यकताअनुसार ठूला तथा साना उद्योग दर्ता गराउन पहल गर्ने निर्णय गरेको संघका सचिव बुद्ध नेगीले बताए । नेपालमा २०२८ सालबाट च्याउ उत्पादन शुरु भएपनि अनुसन्धानपछि २०२९ सालबाट  गोब्रे च्याउको खेती प्रविधिसम्बन्धी अनुसन्धान भएको मानिन्छ । 

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत बाली विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधिसम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरुलाई च्याउ खेती प्रविधिसम्बन्धी तालिम दिन थालिएको हो । हाल नेपालमा २५ हजार टन च्याउ उत्पादन भइरहेको तथ्यांक छ । तर नेपाली बजारमा ७५ हजार टन च्याउको माग रहेको छ । यसरी हेर्दा मागको जम्मा २५ प्रतिशत उत्पादन मात्र हुन सकेको अवस्था छ । तर, काठमाडौंको मात्र तथ्यांक हेर्दा स्थानीय उत्पादनले बजार धान्न सक्ने किसानको दावी छ । 

हालसम्म नेपालमा ७२० प्रकारका च्याउका प्रजातिहरुको पहिचान भएको छ । त्यसमध्ये ११० प्रकारका खान हुने र ७५ प्रकारका औषधिको लागि प्रयोग हुने च्याउ रहेका छन् । च्याउ टिपेको १२ घण्टाभित्रै खाँदा त्यसलाई स्वस्थकर मानिन्छ । विज्ञहरुले आयातित च्याउको तुलनामा स्थानीय उत्पादन स्वस्थ्यकर हुने बताएका छन् । च्याउहरुमा विभिन्न भिटामिन, प्रोटिन, थाइमिन, नाइसिन र विभिन्न मिनरल्सहरुका साथै भिटामिन ए, बि, सी र क्याल्सियमसमेत पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ र यसमा स्टार्च हुँदैन । त्यसैले यसलाई पौष्टिक र स्वथ्यकर खानाकारुपमा लिइन्छ । 

बर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरुको संख्या बृद्धि हुँदै गएकाले यसको व्यावसायिक उत्पादन गर्ने किसानहरुको संख्या पनि दिनानुदिन बृद्धि हँुदै गइहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरुमा व्यावसायिकरुपमा च्याउ उत्पादन गर्ने किसानहरु छन् । किसानलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्ने हो भने च्याउमा नेपाल आत्म निर्भर बन्न सक्ने किसानको दावी छ । त्यसैले अव उपभोक्ताले तिरेको मूल्य किसानको हातमा पु¥याउन तथा स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने दिशामा काम हुन जरुरी छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै