• २०८१ बैशाख ५ बुधबार

खोटाङ ४४ औँ पूर्ण साक्षर जिल्ला घोषणा

kharibot

तस्बिर : रासस

खोटाङ । ‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । 

जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या मध्येमा गरिएको साक्षरता मूल्याङ्कनमा ९६ दशमलव ५६ प्रतिशत साक्षर भएको पाइएपछि आज औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । 

दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरे । भट्टराईले शिक्षा अधिकारी धनबहादुर श्रेष्ठलाई पूर्ण साक्षर जिल्ला भएको प्रमाणपत्र प्रदान गरेर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरेका छन् । 

पन्ध्र देखि ६० वर्ष उमेर समूहका एक लाख ३९ हजार ९४१ निरक्षर नागरिकमध्ये एक लाख ३५ हजार १२९ जना साँवा अक्षर पढ्न र लेख्न सक्षम बनेपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए । छुटेका तीन दशमलब ४४ प्रतिशतलाई पनि चाँडै साक्षर बनाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे । 

जिल्लाका निरक्षर नागरिकले एकदेखि १०० अङ्क लेख्न र भन्न, आम्दानी र खर्चको विवरण राख्न, बैंक भौचर भर्न, मोबाइल चलाउन, सभा–समारोहमा बोल्न सक्ने लगायतका १२ सूचकमध्ये कम्तीमा सात सूचक पूरा गरेपछि साक्षर जिल्ला घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

देशकै सबैभन्दा बढी २७ स्रोत केन्द्र रहेको खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको खुशियालीमा दिक्तेलबजारमा सांस्कृतिक झाँकीसहित विशाल ¥याली निकालिएको थियो । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ४९१ सामुदायिक, २९ संस्थागत, दुई प्राविधिक विद्यालय र ३४७ बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै