• २०८१ बैशाख ८ शनिबार

मुख्यमन्त्री पोखरेलको राजनीतिक यात्रा

kharibot

बुटवल । प्रदेश नं ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल विसं २०१९ फागुन १५ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १९, बिजौरीमा बुबा केशवराज शर्मा र आमा तिलका देवीको कान्छो सन्तानका रुपमा जन्मनु भएको हो । उहाँ हाल नेकपा (एमाले)को स्थायी कमिटी सदस्य हुनुहुन्छ । 

मुख्यमन्त्री पोखरेलकी श्रीमती एमाले नेत्री सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुनुहुन्छ । उहाँहरुका दुई छोरी छन् । 

वैचारिक दक्षता 

विद्यार्थी छँदै राजनीतिमा प्रवेश गर्नुभएका मुख्यमन्त्री पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्य कुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीको नेताको रुपमा उनीहरुको हकअधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी वहन गर्नुभएको छ । 

जननेता स्व मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । विसं २०३६ मा भएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका खेल्नुभएका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाडौँको मोर्चाबाट आन्दोलनको नेतृत्व गर्नुभएको थियो । 

हाल पार्टीमा पोखरेलले पार्टी स्कूल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा पोखरेल निकै सक्रिय हुनुहुन्छ । 

एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट वैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरुमध्ये एक मानिनुहुन्छ । 

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नुभएको थियो । 

जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा पार्टीमा संविधानसभाको प्रस्ताव लैजाने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उच्चस्तरको वैचारिक क्षमता र कुशल वक्ताको रुपमा उहाँले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्नुहुन्छ । 

‘मिनि नेपाल’ मुख्यमन्त्रीको सपना 

राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेतामध्ये हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गर्नुभएका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनुहुन्छ । 

आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात् गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलतापछि अब मुलुक आर्थिक–सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नु पर्दछ भन्ने उहाँ ५ नं प्रदेशको योजनावद्ध विकास गरेर ‘मिनि नेपाल’ बनाउन सकिने धारणा राख्नुहुन्छ । 

साहित्यिक सिर्जना 

विगतमा पार्टी सचिवको रुपमा काम गरिसक्नुभएका पोखरेलले सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचना प्रकाशित छन् । उहाँले साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाउनुभएको छ । पोखरेलले ‘युगलहर’, ‘सिमानापारिको हुङ्कार’, ‘राष्ट्रिय विकल्प’, ‘राष्ट्रिय सङ्कल्प’ लगायत पत्रिका र साहियित्क रचना संग्रहको सम्पादन पनि गर्नु भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै