• २०८१ बैशाख १२ बुधबार

राष्ट्रपतिले बुझिन् मतपरिणाम, वाम गठबन्धनले नयाँ प्रधानमन्त्रीको दाबी तत्काल प्रस्तुत गर्ने 

kharibot

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गर्दै । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय/रासस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । 

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार साँझ अबेर प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति भण्डारीसमक्ष प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै बधाई दिइन् । 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सफलताका साथ सम्पन्न गराउने जिम्मेवारीलाई पूरा गर्न राष्ट्रपतिबाट निर्देशन भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताए । 

सो अवसरमा आयोगले आफ्नो तर्फबाट संविधान र कानूनले दिएको निर्वाचनको जिम्मेवारीलाई स्वतन्त्र, स्वच्छ, निश्पक्ष ढंगबाट गराउन कुनै कसर बाँकी नराखेको जानकारी गराएको थियो । 

निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा अयोगका सचिव बेगेन्द्र शर्मा पौड्यालसमेत सो अवसरमा उपस्थित थिए । 

वाम गठबन्धनले नयाँ प्रधानमन्त्रीको दाबी तत्काल प्रस्तुत गर्ने 

यसैबीच, एकता प्रक्रिया खाकालाई निष्कर्षमा पुर्याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ । 

एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष  बुझाएकाले अब आफूहरुले तत्काल सरकार गठन प्रक्रिया अघि बढाउनेमा कुनै दुविधा नभएको संयोजन समितिका सदस्य एवं केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

तत्काल सरकार बनाएर बहुदलीय प्रतिस्पर्धाका आधारमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका काममा मुलुकलाई अघि बढाउन ढिला भइसकेकाले नयाँ सरकार चाँडै बन्ने उनले बताए । 

एकता बैठकअघिको एमाले स्थायी कमिटीको बैठकले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको सन्दर्भमा एकता प्रक्रियालाई पनि तीव्रता दिन दुई दलले निर्णायक वार्ता गरेका हुन् । 

ललितपुरको मानभवनस्थित एक घरमा बसेको बैठकले दुई पार्टीका अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ता र गृहकार्यको बिफ्रिङ भई गम्भीरतापूर्वक छलफल भएको तर केही विषयमा टुङ्गो लगाउन पुनः बैठक बस्ने नेताहरुले बताए । “कुरा नमिलेर होइन, आज सकारात्मक र गम्भीर कुरा भएको छ, समग्र विषयलाई टुङ्गो लगाउन आजकै छलफललाई निरन्तरता दिन बिहीबार बैठक बस्नेछ”–नेता श्रेष्ठले भने । 

संयोजन समितिका सदस्य एमाले वरिष्ठ नेता झलनाथ खनालले छलफल जारी रहेकाले निष्कर्ष बाहिर ल्याउन नसकिएको बताउनुभयो तर उनले थप प्रतिक्रिया दिन चाहेनन् । दुई पार्टीबीच प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो वा कसरी कार्यविभाजन गर्ने तथा वैचारिक राजनीतिक सिद्धान्तमा थप छलफल हुँदै आएको छ । 

संगठन र विचारसम्बन्धी कार्यदल बन्ने 

बुधबारको बैठकमा पार्टी एकताका लागि संगठनात्मक र वैचारिकसम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको समितिका सदस्य एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । 

उहाँले कार्यदलका सदस्यहरुका नाम बिहीबार तय हुने जनाउँदै भन्नुभयो, “एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको छ, ५ प्रतिशत मिलाउन पुनः बस्ने तय भएको हो, अब एकता हुने भन्नेमा कुनै विवाद छैन ।” दुई पार्टीबीच निर्वाचनअघि गत असोज १७ मा पार्टी एकता गर्ने घोषणासहित चुनावी तालमेल भएको थियो । रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै