• २०८१ बैशाख ४ मंगलबार

ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता : यसरी बन्दै छ सहमति 

kharibot

आइतबारको वार्तामा लन्च गर्दै प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड , साथमा व्यापारी दुर्गा प्रसाई

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता आइतबार पनि कुनै निचोडमा पुग्न सकेन । 

भक्तपुरमा माओवादी नेता तथा व्यापारी दुर्गा प्रसाईको घरमा विहानको खानासहित चार घण्टा लामो छलफलमा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।  

दुई नेताबीच भएको आइतबारको छलफलमा पार्टी एकता र सरकारमा सहभागीताको बारेमा लामो छलफल भएपनि सहमति भने जुटन नसकेको एमाले माओवादी नेताले बताएका छन ।
शनिबार दुई नेताबीच भएको छलफलमा आइतबार यी विषयमा छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो । आइतबारको छलफलमा निष्कर्ष निकाल्न नसकेपनि छलफल सकारात्मक रहेको दुवै नेताले बताएका छन । 

छलफलका क्रममा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारमा सहभागी मन्त्रीहरुको नाम दिन आग्रह गरे पनि प्रचण्डले पार्टी एकतापछि मात्रै सरकारमा सहभागी हुने बताएको जनाइएको छ ।

ओली र प्रचण्ड पार्टी एकता, सरकार विस्तार, राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष–उपाध्यक्ष विभिन्न राजनीतिक नियुक्तिलगायतका विषयमा प्याकेजमै सहमति कायम गर्ने गरी छलफलमा जुटेका थिए । आजको बैठक सकारात्मक रहेको  र अर्को बैठकले नमिलेका विषय मिलाउने गरी सकिएको छ ।

ओली र प्रचण्डबीच यस अघि नै आधा–आधा समय सरकारको नेतृत्व गर्ने र सरकारको नेतृत्व गर्ने पार्टीको सेरेमोनियल अध्यक्ष तथा सरकारको नेतृत्व नगर्नेले कार्यकारी अध्यक्ष हुने भनेर समझदारी कायम भइसकेको छ । तर ओली र प्रचण्डबीचको समझदारीप्रति एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेललगायतले असहमति जनाएपछि वार्ता भाडिँएको थियो ।

आइतबार एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टी एक भइसकेको भन्दै अब एकताको ‘ता’ मात्रै बाँकी रहेको बताएका छन् । आइतबारको ठिमी बैठकपछि एमाले दलको कार्यालय सिंहदरबारमा पुगेका ओली-प्रचण्डलाई आफू नेतृत्वको कार्यदलको प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग गौतमले आज-भोलितिरै एकता प्रक्रिया टुंगिने प्रतिक्रिया दिएका थिए।

‘दुई पार्टी अब एक भइसक्यो, एकताको ‘ता’ मात्र बाँकी छ, आज-भोलितिरै टुंगिन्छ’, गौतमले सञ्चारकर्मीसँग भने, ‘औपचारिक एकता संसद् अधिवेशनपछि हुन्छ, माओवादी सरकारमा तत्काल आउँछ।’

दुई अध्यक्षबीच एकीकृत पार्टीलाई दुई अध्यक्षात्मक प्रणालीमा लगेर संयुक्त नेतृत्व गर्ने, पदाधिकारी दुई जना मात्र रहने, बैठकको अध्यक्षता आलोपालो गर्ने र पदीय मर्यादा पनि अध्यक्षता गर्ने को पहिलो नम्बरमा हुने गरी मिलाउने, ११ सदस्यीय स्थायी समिति बनाउने, दुई अंकसम्मको केन्द्रीय समिति बनाउने, दुई वर्षभित्रै एकताको महाधिवेशन गर्नेजस्ता विषयमा बुधबारको बैठकअगाडि नै सहमति जुटेको नेताहरूले बताएका छन् ।

एमाले नेताहरुका अनुसार सोमबार ओली र प्रचण्डबीच थप वार्ता हुने छ भने त्यसपछि एकता संयोजन समितिको बैठक पनि सोमबार नै बस्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै