• २०८१ बैशाख १२ बुधबार

स्वर्गीय डिल्लीरमण रेग्मीको सम्पत्ति नचलाउन अदालतको आदेश

kharibot

काठमाडौँ । स्वर्गीय नेता डा. डिल्लीरमण रेग्मीको सम्पत्ति यथास्थितिमा राख्न काठमाडौँ जिल्ला अदालतले सरकारका नाममा आदेश दिएको छ । कित्ताकाट गरेर स्वर्गीय नेताको सम्पत्ति नेपाल सरकार शिक्षा मन्त्रालयले लिएको कार्यका विरुद्धमा परेको जालसाजी मुद्दाबाट तत्काल कुनैपनि हिसाबले चलाउन नपाउने गरी यथास्थितिमा राख्न काठमाण्डौं जिल्ला अदालतले आदेश दिएको हो ।

न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले कित्ताकाट भएर डिल्लीरमण रेग्मी कल्याणी रेग्मीका नाममा गएको जग्गा समेत रोक्का राख्न मालपोत कार्यालय डिल्लीबजारलाई आदेश दिएको छ ।

स्वर्गीय नेता रेग्मीले अवन्तिका रेग्मीको जीवनभर भोगचलन गर्न अधिकार दिएकाले उनको जीवनकालमै कित्ताकाट भएर जानसक्ने अवस्था नभएको दावीसहित अधिवक्ता अनन्तराज लुईटेलले अवन्तिका रेग्मीको तर्फबाट अदालतमा बहस पैरवी गर्दै आएका छन् ।

कित्ताकाट गरेर आधा जग्गा शिक्षा मन्त्रालयले नासारी गरेको सन्दर्भमा अविन्तका रेग्मीले जालसाजी मुद्दा दायर गरी आफ्नो हक स्वामित्वको जग्गा आफ्नो जीवनकालमै लैजाने सरकारी निर्णय गैर कानुनी भई आफूप्रति अन्यायपूर्ण भएको दावी सहित काठमाण्डौ जिल्ला अदालतमा जालसाजीको मुद्दा दायर गरेकी छिन् । उनले भूमाफियासंग मिलेर मालपोत कार्यालय र शिक्षा मन्त्रालयले आफ्नो जग्गा कित्ताकाट गरेको पनि आरोप लगाएकी छिन् ।

अवन्तिका रेग्मीले आफ्नै पिताले गठन गरेको पुस्तकालयका अधिकारीले छलकपट गरी आफ्नो सम्पत्ति आफूबाट छिन्न खोजेको, सरकारले खटाएका कर्मचारीले सम्पत्तिका लागि आफूलाई मार्न खोजेको दावी सहित अदालतमा न्यायको याचना गरिरहेकी छिन ।

यसअघि उनले पुस्तकालयका अधिकारीहरुबाट आफ्नो जीउज्यान नै लिने आशंका भएको आरोप सहित काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको मुद्दा दायर गरेकी थिइन । पुस ६ मा दायर भएको मुद्दाका आधारमा जिल्ला प्रशासन कार्यालयले तत्कालै महानगरीय प्रहरी परिसर काठमाण्डौंलाई शान्ति सुरक्षाका लागि आवश्यक कार्य गर्न निर्देशन दिइसकेको छ ।

पुस ३ मा अवन्तिकालाई आफ्नै पिताले खडा गरेको डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालयको निर्देशनमा पक्राउ गरी चारघण्टा प्रहरीको हिरासतमा राखिएको थियो । शान्ति सुरक्षाको मुद्दा दर्ता भएलगत्तै काठमाण्डौं जिल्ला प्रशासन कायालयले आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसरलाई निर्देशन दिइसकेको छ ।

गाली गलौज गर्ने, ज्यानमार्ने, मोटरले किचेर मार्छु भन्ने सम्मको धम्की पाएपछि रेग्मीमाथि पुस्तकालयका कर्मचारीबाट शान्ति सुरक्षाको खतरा रहेको भन्दै अधिवक्ता लुईंटेलले धम्की दिने पुस्तकालयका कार्यालय कर्मचारीहरुमाथि कारबाहीको माग गरिएको बताए ।   आफ्नै पिताले स्थापना गरेको पुस्तकालयका कर्मचारीहरुले आफ्नो सम्पत्ति र घरजग्गा खान लागेको भन्दै आक्रोश व्यक्त गरेपछि स्वर्गीय रेग्मीकी पुत्रीलाई पक्राउ गरी पुस ३ मा दरबारमार्गस्थित प्रहरी वृत्तमा चार घण्टा राखिएको थियो ।

स्वर्गीय नेता रेग्मीले आफ्नो सम्पूर्ण सम्पत्तिको उपभोग गर्न पाउनेगरी नातिनीलाई प्रदान गरी उनलाई छोरीको दर्जा दिलाएका थिए । अवन्तिकाको शेषपछि मात्रै उक्त सम्पत्ति पुस्तकालयको नाममा जानेगरी स्वर्गीय नेताले २०५४ साल माघ १७ मा शेषपछिको बकसपत्र पनि गरिदिएका थिए । स्वर्गीय रेग्मी वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको सभापति बनेका राष्ट्रवादी नेताको रुपमा चिनिन्छन ।

पुस्तकालयले आफूलाई आवात जावतमा बाधा सिर्जना गरेको, आफ्नो जीवनकाल अघि नै शेषपछिको बकसपत्रबाट पुस्तकालयलाई प्रदान गरेको सम्पत्ति भूमाफियाको चंगुलमा फसी कर्मचारीहरुले पहिल्यै हडप्न खोजेको आरोप लगाउ‘दै स्वर्गीय रेग्मीको वार्षिकउत्सवको कार्यक्रममा होहल्ला गरेपछि अवन्तिकालाई पक्राउ गरी चारघण्टा थुनामा राखिएको थियो ।

आफ्नो आवतजावतमा समेत पुस्तकालयले समस्या सिर्जना गरेपछि उनले गत भदौमा सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन । स्वर्गीय नेता रेग्मीले पुस्तकालयलाई छोरी अवन्तिकाको शेषपछि पाउने गरी पुस्तकालयको नाममा काठमाण्डौं जिल्ला लाजिम्पाट वडा नं. २ कि नं. १३६ को जग्गा दिएपनि पुस्तकालयले पहिल्यै जालझेल गरी आफ्नो नाममा लिइसकेको भन्दै सोको बदर गरीपाऊन रिटमा माग गरिएको थियो ।

रेग्मीको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासबाट भाद्र ३१ मा अन्तरिम आदेश जारी भइसकेको छ । आफ्नो जीवनकालमै उक्त जग्गा कित्ताकाट गरी पुस्तकालयको नाममा जान नसक्ने भन्दै अवन्तिकाले अदालको ढोका ढक्ढक्याइरहेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै