• २०८१ बैशाख ४ मंगलबार

मन्त्री थममाया थापा राजनीतिक यात्रा : म्याग्दीको विकट गाउँबाट सिंहदरबारसम्म

kharibot

काठमाडौं । वि.सं. २०१५ सालमा आमा गजमती थापा र बुबा नरबहादुर थापाकी कान्छी छोरीको रुपमा जन्मिएकी हुन् थममाया थापा । म्याग्दीको विकट गाउँमा जन्मिएकी थापाले अरु सामान्य बच्चाले जस्तै आफ्नो बाल्यकाल बिताइन् । बाबु भारतीय सैनिकको जम्दार भएको र छोराछोरीलाई स्कुल पढाउनुपर्छ भन्ने उद्देश्यले आफैँले स्कुल बनाएर आफैँ पढाउनथालेपछि उनी पनि स्कुल पढ्न थालिन् ।

छोराछोरी पढ्नथाले साँच्चै बिग्रिन्छन् भन्ने सोच भएका बाबु आमालाई बुझाउन आफ्नो बाबुलाई गाह्रो भएको अनुभव उनले सुनाइन् । उनले भनिन्, ‘त्यो बेला पढ्ने चलन नभएकाले स्कुल पढ्ने र पढाउने बानी बसाल्न साँच्चै ठीक काम थियो ।’ बुबा ‘रिटायर्ड’ भएपछि उनले पढाउन सुरु गरिन् । आफ्नो पढाउँदाको अनुभव सुनाउँदै थापाले भनिन्, ‘छोराछोरी बिगार्यो भनेर सबैले विरोध गरे ।’ 

आफ्नो बुबाले सामाजिक काम गर्दै आएको र आफूले पनि त्यस्तै समाजसेवाको काम गर्छु भन्ने सोच उनलाई थियो । आखिर उनले त्यो पूरा गरेरै छोडिन् । २०३५÷०३६ सालको बहुदल÷निर्दलको कुरा आएको र बहुदलमा आफू लागेकाले राजाको विरोध गरेको भन्दै उनलाई अझ नराम्रो व्यवहार गरे । त्यसपछि उनी आफ्नो शिक्षण पेसा नै छोडेर सदरमुकाम बस्नथालिन् । त्यसपछि उनी स्काउटको सहायक जिल्ला आयुक्त भएर आइन् र माले पार्टीसँग सम्पर्क गरिन् ।

त्यहीँबाट उनको राजनैतिक जीवन सुरु भयो ।  मालेको विचार, सिद्धान्त मन परेपछि उनी पार्टीप्रति आकर्षित भइन् । त्यसपछि अनेमसंघको टोल कमिटीमा आबद्ध भएर अगाडि बढ्दै गइन् । जब उनी रानजीतिमा लागिन्, आफ्नो अध्ययन पेसालाई पनि अघि बढाउँदै भूमिगत राजनीति सुरु गरिन् । उनलाई विचार र सिद्धान्तले यो सबै सम्भव भएको हो भन्ने लाग्छ । उनले अगाडि भनिन्, ‘दिदीबहिनीलाई राजनीतिमा लाग्नुपर्छ, समाज परिवर्तन गर्नुपर्छ, महिलाहरु पछि पर्नुहुन्न अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिन भूमिगत रुपमा नै लागिपरेँ ।’  

२०४३ सालमा पञ्चायतको भण्डाफोर गर्ने र जनपक्ष प्रतिनिधि उठाउन लागिपरिन् । प्रचारप्रसारको लागि खटेकै समयमा उनीमाथि धेरै कुटपिट भयो । कुटपिटसँगै लगाएका कपडासम्म च्यातिदिएको तीतो राजनीतिक अनुभव उनीसँग छ । ‘एकपटक त धेरै कुटपिट गरेर आफूलाई मरेको भन्दै फाले’, उनले भनिन्, ‘शरीर कतै खाली थिएनन् घाउ नै घाउ थियो ।’ पछि बुथ नै कब्जा गरेर पञ्चायतले जितेको घोषणा गरिएको उनले सुनाइन् ।

त्यसपछि भने उनी पूर्णरुपमा नै खुलेर राजनीतिमा आइन् । सोही कारण उनले १५ वर्षदेखि गर्दै आएको पढाउने स्थायी शिक्षण पेसा छोडेर राजनीतिमा होमिइन् । त्यसपछि उनी पोखराको पीएन क्याम्पसमा भर्ना भइन् । त्यहाँबाटै विद्यार्थी राजनीति सुरु गरिन् । स्ववियुको कोषाध्यक्षबाट राजनीति सुरु गरिन् । तर त्यहाँ पनी उनलाई राजनीति गर्न सहज थिएन । क्याम्पस प्रशासनले नै राजकाजको अभियोग लगाएको र खुलेर हिँड्न नसकेपछि फेरि भूमिगत भइन् र आफ्नो अध्ययन समेत पूरा गर्न पाइनन् थापाले । 

‘एकपटक त धेरै कुटपिट गरेर आफूलाई मरेको भन्दै फाले’, उनले भनिन्, ‘शरीर कतै खाली थिएनन् घाउ नै घाउ थियो ।’ पछि बुथ नै कब्जा गरेर पञ्चायतले जितेको घोषणा गरिएको उनले सुनाइन् ।

२०४५ सालमा जनवादी विवाह गरिन् । विवाहपछि उनकी छोरी जन्मिइन् । र २०४६ सालको आन्दोलनपछि बहुदल आएपछि पुनः म्याग्दी गएर नेकपा मालेको पार्टी कार्यालय खोलेर आफैँ कार्यालय सचिव बनेर काम गरी उनी २०४८ सालमा पार्टीको पहिलो संसदमा अत्यधिक बहुमतले निर्वाचित भइन् । २०४८ सालको दोस्रो अखिल महिला संघको सम्मेलनमा केन्द्रीय सदस्यसम्म भइन् ।

त्यस्तै, अखिल नेपाल महिला संघको दोस्रो, तेस्रो, पाँचौँ, छैटौँ सम्मेलनसम्म उनले कमिटीमा रहेर काम गर्दैै आइन् र हालसम्म पनि अनेमसंघको महासचिवमा रहेर काम गर्दै आएकी छिन् । केन्द्रीय कमिटी सदस्य हुँदै पोलिटब्युरो सदस्य समेत भइन् थापा ।  संघर्षमय राजनीतिक जीवन, तीतो अनुभव लिएर राजनीतिमा होमिँदै आएकी थापाले आफू आन्दोलनमै भएको समयमा दुई वर्षीय छोरा गुमाउनुपरेकोमा दुःख व्यक्त गरिन् ।

त्यस्तै ०५२ सालमा आमालाई उपचार गर्न नपाएर आमाको मुत्यु भएको त्यो क्षणले उनलाई बेलाबखत भक्कानो छोडिदिन्छ । राजनीति गर्नथालेपछि घर, परिवार, नातागोता केही भन्न नपाइने भए पनि देश, जनता र समाजको लागि काम गर्ने भएकाले परिवार गौण रहने उनको धारणा छ । 

आफूले धेरै संघर्ष गरेकाले नै जनताले धेरै अधिकार पाएको बताउने थापा देशमा संघीय लोकतन्त्र आएको र बहुमतको वाम सरकार बनेको बताइन् । जनताको लागि केही गरियो भन्ने लाग्छ उनलाई । उनले भनिन्, ‘बगाएको पसिना खेर गएन ।’ प्राप्त भएको कुरा संस्थागत गर्नको लागि राजजीतिक स्थिरता, जनताको आशा र प्रतिनिधिको हिसाबले चुनौती र अवसर दुवै छ भन्ने लाग्छ उनलाई । 

जीवनको लामो समय संघर्षमय रहेको र हाल महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भइरहेको अवस्थासम्म आइपुगेका थापालाई जीवन संघर्ष र अनुभवको संगालो जस्तै लाग्छ । त्यसैले त उनी जीवन तीतोमीठो दुवै हुने बताउँछिन् । 

नयाँपुस्ताको राजनीतिमा कम चासो 

लामो समयदेखि राजनीतिमा लागेकी थापाले जीवनमा धेरै संघर्ष गरिन् । अझ भनौँ उनले राजनीतिमा सफलता समेत हात पारेकी छिन् । तर उनलाई नयाँपुस्ता भने जाँगर र चासोका साथ राजनीतिमा नआएझैँ लाग्छ ।

किनभने राजनीतिक अस्थिरता, संगठन व्यवस्थित नभएको, उचित योजना नभएकोले राजनीतिमा नयाँपुस्ता कमै आएको उनको बुझाइ छ । तर राजनीति सबै कुराका निर्णायक भएकाले हरेक मान्छेले राजनीति जान्नु र बुझ्नुपर्छ भन्ने लाग्छ उनलाई । त्यसैले त उनी भन्छिन्, ‘राजनीति सबै कुराको निर्णायक हो भने जनता विश्वविद्यालय हुन् ।’

भर्खरै मन्त्री समेत बनेकी थापा महिला हकहित र अधिकारको लागि आफ्नो जीवन समर्पित भएकोले यसकै लागि मरिमेट्ने बताउँछिन् । महिला, बालबालिका, ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, रोजगारीको लागि आफूले काम गर्ने उनको लक्ष्य रहेको छ । समाजमा रहेको अन्धविश्वास, छाउपडी अन्त्य, बालबालिका, ज्येष्ठ नागरिकले पाएको दुःख र उनीहरुकै लागि आफूले  ठोस कदम चाल्ने उद्देश्य छ उनको ।

सडक बालबालिकाको भविष्य निर्माणको लागि योजना बनाउने, नीतिगत रुपमा विधान बनाउने, संविधानमा लेखिएका कुरामा कानुन बनाउने, महिला हिंसा, विकृति र विसंगतिको अन्त्यको लागि एनजीओ, आईएनजीओलाई पारदर्शी बनाउने समेत उनको लक्ष्य छ ।

आफूले हरेक दुःखको सामना गर्दै यहाँसम्म आइपुग्दा आफूले जनताकै हकहित र अधिकारको लागि काम गर्दै आएको र मन्त्री बन्न पाउँदा आफूले साँच्चै केही गरेजस्तो लाग्छ उनलाई । तर आफू मन्त्री नै नबने पनि मन्त्री बन्ने लाइनसम्ममा आफ्नो नाम आउँछ भन्ने सोचेको उनले खरीबोटसँगको कुराकानीमा बताइन् । 

जिन्दगीको उर्वर समय राजनीतिमा बिताएर मन्त्री बन्न सफल भएकी थापा आफ्नो जीवनको सबैभन्दा धेरै खुसी बहुदलीय वाम सरकार आउँदा भएको बताउँछिन् । उनले भनिन्, ‘जिन्दगी नै यसैमा लगानी गरेँ, योभन्दा खुसी के हुनु र !’ 

आफ्नो छोरो, आमा र मदन भण्डारी अनि जीवराज आश्रितलगायतको मृत्युको त्यो क्षण र आन्दोलनमा पाएको ती तीता यथार्थलाई उनी आफ्नो जीवनको दुःखको क्षण मान्छिन् । 

  • (गत ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ खाएर महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थापासँग खरीबोट डटकमकी संवाददाता कविता घिमिरेले उनकै कार्यकक्षमा गरेको कुराकानीमा आधारित)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै