• २०८१ बैशाख ७ शुक्रबार

प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न 

kharibot

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित “प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४” शनिबार प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा एक विशेष समारोहका बीच समापन भएको छ ।

फाल्गुन ०६ गतेदेखि लगनखेलमा संचालन भएको सो प्रतियोगिता  अन्तर्गत शनिबार अपरान्ह नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल भलिबल टीमबीच भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल भलिबल टिमलाई ३–१ को सेटमा पराजित गरी प्रथम भएको छ । 

यसअघि फाल्गुन ११ गते तेश्रो स्थानको लागि भएको खेलमा नेपाल प्रहरीको भलिबल टिमले सशस्त्र प्रहरी बलको भलिबल टिम माथि विजय हासिल गरी तेश्रो स्थान हासिल गर्न सफल भएको थियो । “प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४” मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक÷एक तथा तत्कालिन पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त समापन समारोहमा प्रधानसेनापति क्षत्रीले प्रतियोगितामा सर्बप्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र तीन लाखको चेक प्रदान गरेका थिए । 

त्यसैगरि द्धितिय तथा तृतिय स्थान हासिल गर्न सफल क्रमशः पश्चिमाञ्चल भलिबल टिम र नेपाल प्रहरी भलिबल टिमले प्रमाण पत्र, मेडल तथा एकलाख पचास हजार र पचहत्तर हजारको चेक प्राप्त गरेको थियो । 

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लब भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका मान बहादुर श्रेष्ठ, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका भैरव बम, उत्कृष्ट डिफेन्डर पश्चिमाञ्चल भलिबल टिमका दिपक थापा, उत्कृष्ट लिफ्टर नेपाल प्रहरी टिमका इम बहादुर मगर र उत्कृष्ट सर्भर पश्चिमाञ्चलका अमृत के.सी.ले पुरस्कार स्वरुप जनही रु. १०÷१० हजार नगद प्राप्त गरेका थिए । 

प्रतियोगिता भरिकै सर्वोत्कृष्ट खेलाडी तर्फ त्रिभुवन आर्मी क्लबका ईश्वर केसीले १६० सिसिको पल्सर मोटरसाईकल प्राप्त गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै