• २०८१ बैशाख ८ शनिबार

प्रदेश ३ को प्रदेशसभाको बैठकमा कार्यविधि मस्यौदा प्रस्तुत

kharibot

हेटौँडा । प्रदेशसभा ३ को आज अपराह्न बसेको बैठकमा प्रदेशसभाको कार्यविधि २०७४ को मस्यौदा प्रस्तुत गरिएको थियो । 

सो बैठक प्रारम्भ हुनासाथ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्दै संघीय सरकार र प्रदेशसभाको छुट्टाछट्टै कार्यविधिको साथै ऐन कानून तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश क्षेत्रका बहुसंख्यक जनताका लागि आर्थिक समृद्धि गर्न र दिगो शान्तिका लागि प्रदेशसभाका सदस्यले दलगत स्वार्थभन्दा माथि उठेर प्रदेश सरकारलाई सहयोग पु¥याउन आग्रह गरे । 

उहाँले प्रदेश सरकारले आफ्नो कार्ययोजना थालनी गर्न केन्द्रीय सरकारबाट खटाइएका राष्ट्रसेवक कर्मचारी तत्काल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आउन आलटाल गरिएको कारणले सरकारले तत्कालै गर्नुपर्ने काममा बाधा पुग्न गएकामा चिन्ता व्यक्त गर्दै संसदीय प्रजातन्त्रको भविष्य उज्ज्वल पार्न प्रदेशसभाका सदस्य र दलका नेतृत्वले एजेण्डाका रुपमा अघि बढ्नु पर्ने जरुरी रहेको बताए । 

सो बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको पूर्वाधार विकासका लागि विभिन्न मन्त्रालयबाट समन्वय गरी अघि बढ्नुपर्ने चर्चा गर्दै उनले जनताको शान्ति सुरक्षा आर्थिक समृद्धि गर्ने कार्यलगायत मानवअधिकारको प्रत्याभूति गर्नेतर्फ सरकारलाई प्रतिपक्ष दलले पनि निःस्वार्थरुपमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

सो बैठकमा प्रदेशसभाको कार्यविधि २०७४ को मस्यौदा समितिका संयोजक राजेन्द्र पाण्डेले मस्यौदा प्रस्तुत गर्दै प्रदेशसभाका सभामुख, उपसभामुख र प्रदेशसभाका सदस्यको काम कर्तव्य अधिकारका साथै प्रदेशसभामा सार्वजनिक हितका विषय, आर्थिक विनियोजित विधयेक, विशेषाधिकार विधयेकलगायत २१७ वटा नियम (दफा) र ६ वटा अनुसूची समावेश गरिएको बताए । 

उहाँका अनुसार प्रदेशसभाका सदस्यको आचरण व्यवहार गरिनुपर्ने एवं संसद्मा जिरो आवरको व्यवस्था गरिएको र प्रदेशसभाको १३ जिल्लामा स्थायी बसोवास गरेका जनताले सार्र्वजनिक हितका निमत्त प्रदेशसभामा प्रस्तुत गर्न ल्याइएको प्रस्तावलाई तीनजना प्रदेशसभाका सदस्यले हस्ताक्षर गरी तत्काल प्रदेशसभामा प्रस्तुत गर्नसक्ने अधिकारको नयाँ समावेश गरिएको जानकारी दिए । 

सो मस्यौदामाथि भोलि १४ गते संशोधनको प्रस्तावका लागि बिहानको १० बजे समय निर्धारण गरिएको प्रदेशसभाका सचिव भरतकुमार बुढाथोकीले बताए । 

साथै सो मस्यौदामाथि भोलि सोमबार बिहान ११ बजे बृहत् छलफल गर्न प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले समय निर्धारण गरी आजको बैठक स्थगित गरेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै