• २०८१ बैशाख ६ बिहीबार

भिजुअलाइजेसन: प्रक्रिया र फाइदा

kharibot

लेखक: प्रकाश पाण्डे

काठमाडौँ ।  भिजुअलाइजेसन एक दृश्यात्मक मानसिक चित्र हो।जसले काम गर्नको लागि मानसिक उर्जा दिन्छ।प्रक्रियाको आन्तरिक  ज्ञात गराउँछ। सामान्यतया मस्तिष्कका स्नायु ,शरीरका अवयब र आत्मालाई लक्ष्य तर्फ एकीकृत गरिदिन्छ।

खासमा इच्छित लक्ष्यलाई मानसिक चित्रको रुपमा प्रत्यक्षिकरण गरेर सफलता प्राप्तिको विशेष कल्पनाको प्रक्रियालाई भिजुअलाइजेसन भनिन्छ। बो बेनेटले भिजुअलाइजेसनलाई उदेश्य सहितको दिवासप्ना भनेका छ्न्। डेनिस वएट्लीले बिजुअलाइज गर्दा मेटेरिलाइज हुने कुरा गरेका छ्न्।त्यस्तै भिजुअलाइजेसनलाई जेम्स जर्जले इच्छित मानसिक चित्र निर्माणको कार्यको रुपमा ब्याख्या गरेका छ्न्। वास्तवमा भिजुअलाइजेसन  बिस्तृत ,स्पष्ट र सजिव चित्र सिर्जना गरि त्यसैमा केन्द्रीत भएर लक्ष्य प्राप्त भएको कल्पनाको आश्चर्यजनक एक ससक्त प्रकिया हो।

रोबर्ट कोलिएर भन्छ्न्--तिमी जुन चिज,बिषय या बस्तु चाहान्छौं त्यसैको भिजुअलाइज गर।हेर।महशुस गर।विश्वास गर।मानसिक चित्र खिच। त्यही बन्न/ हुन शुरु हुन्छ। त्यस्तै  सफलताको भिजुअलाइज गर अनिमात्र काम शुरु गर भनेर जेम्स एलेन सम्झाउँछ्न्।

हाम्रो दिमागले केवल चित्रहरू बुझ्दछ।शब्दहरू होइन।  एउटा चित्रले एक हजार शव्द भन्दा बढी शव्दहरु बोकेको हुन्छ।हामी जे सुन्छौं, पढ्छौ।ती सबै शब्दहरूको तस्वीर हाम्रो दिमागमा बनिन्छ।जस्तो मैले लेखें कि एक व्यक्ति रूखमुनि बसेर आँप  खाइरहेको छ।  यहाँ ब्यक्ति ,रुख ,आँप ,खानुका चित्रहरु दिमागमा बनिएको हुन्छ। किनकी हाम्रो दिमागमा हामीले जानेका र बुझेका शब्दहरूको तस्वीर हुन्छ। त्यसलाई दिमागले चित्रमा ग्रहण गरेको हुन्छ।

व्यक्तिहरू अध्ययनमा राम्रो गर्न सक्दैनन् किनभने अध्ययन गर्दा हामीले सुन्ने शब्दहरूको  चित्र पचास प्रतिशत हाम्रो दिमागमा हुँदैन। त्यही भएर सम्झन सकिँदैन।मेमोरी किङहरुले शव्दलाई चित्रमा सुरक्षित राख्छन् र सजिलै सम्झिन्छ्न्।  प्रयोगात्मक कार्य गर्दाको दृश्य दिमागमा सजिलै बन्ने हुनाले विद्यार्थीले देखेको र गरेको सजिलै सम्झिन्छन्। भनिएकै छ नी -- सुनेको कुरा बिर्सन्छ,देखिको कुरा सम्झिन्छ र गरेको कुरा बुझिन्छ/ जानिन्छ।

भिजुअलाइजेसनका फाइदाहरू के के छ्न?

१ )  भिजुअलाइजेशनले लक्ष्य तथा इच्छाहरूमा ध्यान केन्द्रित गर्दछ:

कार्य सफलतामा ध्यान र मानसिक शक्ति बहुत आवस्यक हुन्छ जुन भिजुअलाइअजेसनबाट प्राप्त हुन्छ। यसले प्लानको प्रोजेक्ट गर्छ।

२) सृजनात्मक अवचेतनलाई सक्रिय गर्दछ।

चेतन र अवचेतन मनले हाम्रा कार्यहरूलाई निर्देशित गरिरहेको हुन्छ। भिजुअलाइजेसनले लक्ष्य प्राप्तिको लागि आवश्यक रचनात्मक विचारहरू उत्पन्न गर्न अवचेतन मनलाई सकृय  गर्दछ। यसले विश्वास, कल्पना ,विचार र भावना शक्ति बढाउछ।परिणाममा अवचेतनले काम गर्छ।

३.) मस्तिष्कलाई प्रोग्राम गर्दछ:

भिजुअलाइजेसनले बिषयलाई सजिलैसँग बुझ्न र सपनाहरू प्राप्त गर्न आवश्यक पर्ने श्रोतहरू पहिचानको लागि  मस्तिष्कलाई प्रोग्राम गर्दछ।

४) सिकाइलाई स्थायी बनाउँछ:

भिजुअलाइअजेस गरेर अध्ययन गरेको छ भने त्यसको छाप स्मृतिमा सुरक्षीत रहेको हुन्छ । त्यसैले बिर्सिदैन्।चाहिएको बेला सम्झनामा आउँछ।परीक्षामा सजिलै लेख्न सकिन्छ वा जुनसुकै माध्यामबाट पनि अभिब्यक्त गर्न सरल हुन्छ।

५) आकर्षणको नियमलाई सक्रिय गर्दछ :

भिजुअलाइजेसनको प्रक्रियाले मस्तिष्क ,मन ,शरीर र आत्मालाई संगठन गरि लक्ष्य प्राप्तिमा केन्द्रित गर्दछ।लक्ष्य प्राप्त भैसकेको दृश्य देखिन्छ र ब्यक्ती आशावादी र रोमान्चित हुन्छ। सफलताको लागि मनको ढोका खुल्छ।

६) मस्तिष्कलाई सक्रिय र क्षमतावान बनाउँछ:

भिजुअलाइजेसनले कार्यको लागि स्नायुलाई तयारी अवस्थामा राख्छ।मस्तिष्कलाई शुद्ध र शान्त बनाउँछ। कार्य र सफलताको लागि अगाडि नै तयारी अवस्थामा राख्छ।

७)  स्वप्ना प्राप्त गर्न आन्तरिक प्रेरणा वढाउछ:
    
भिजुअलाइजेसन लक्ष्य र उद्देश्य सहितको सपना भएकोले उदेश्यको प्राप्तिमा सकारात्मक आन्तरिक प्रेरणा दिन्छ ।कार्यको लागि मस्तिष्क तन्तु,अंग र शरीरका अवयबहरुले शक्ति प्राप्त गर्छ्न् र  तयार रहछ्न्। भिजुअलाइजेसनले कार्यको तिब्रता बढाउछ।थप शक्ति प्राप्त हुन्छ।सफलताको संभावनालाई उच्च बनाउँछ।

भिजुअलाइजेसनको प्रक्रिया के हो?

भिजुअलाइजेसन कल्पना शक्ति द्वारा निर्माण एक आन्तरिक मानसिक प्रक्रिया हो। मस्तिष्कमा बन्ने स्पष्ट मानसिक चित्र हो। न कि त्यो चित्र मात्र होइन त्यो त कार्यरुपको प्रारम्भिक अवस्था हो। यसबाट लक्ष्य प्राप्त गर्न इच्छित लक्ष्यहरु निर्माण गरि शान्त भएर सिर्जनशील कल्पना गर्दै अवचेतन मनलाई जगाएर मस्तिष्कमा लक्ष्य प्राप्तिको लागि स्पष्ट मानसिक चित्र बनाउनुपर्छ।

अल्फेड ए मोन्टाप्रेट भन्छ्न,` महान चिजहरु प्राप्त गर्नु पहिला सपना देख्नु,भिजुअलाइज गर्नु, त्यसपछि योजना बनाउनु,विश्वास गर्नु र कार्य गर्नुपर्छ।´भिजुअलाइजेसन  कार्य गर्नु पूर्वको मानसिक तयारी मात्र नभएर कार्य समाप्त भएपछिको खुशी र सफलताको स्पष्ट चित्र हुनाले आन्तरिक प्रेरणा जगाउँछ।

१) इच्छित लक्ष्य र उदेश्य निर्माण

ब्यक्तिको इच्छा के मा छ।चाहना के मा छ।के बन्न खोजेको हो या के गर्न खोजेको हो त्यसमा आधारित भएर लक्ष्य र उदेश्यहरु तय गर्नुपर्छ। लक्ष्य र उदेश्य प्राप्तिको लागि एउटा आन्तरिक मार्ग भिजुअलाइजेसन भएकाले त्यसको अभ्यास गर्न तयार हुनुपर्छ ।

२ )सिर्जनात्मक कल्पना मार्फत मानसिक चित्र निर्माण

सिर्जनात्मक कल्पना गर्ने,सपनाको लागि आन्तरिक मार्गको डिजाइन कोर्ने,उपकल्पनाको मनन गर्ने तथा स्पष्ट मानसिक चित्रको निर्माण गर्नुपर्छ।कल्पनाले दिमागलाई सक्रिय ,सिर्जनशील र मार्गनिर्देश गर्छ।विश्वासका साथ कल्पनाको बारम्बारतालाई कायम राख्ने हो भने आकर्षकको नियम आकर्षित भै कार्य फलित हुन्छ।

३) भिजुअलाइजेसनको अभ्यास

लक्ष्यको कल्पना गर्दै त्यसको स्पष्ट मानसिक चित्रको अभ्यास गर्ने,त्यसो गर्दा आत्मसुझाव ,भावना,चेतनाका साथमा जोडिएर रहनुपर्छ ।मनले आत्मसुझावलाई ग्रहणिय बनाउन संकल्प शक्तिका साथ  निरन्तर अभ्यास गर्नुपर्छ।इच्छाशक्ति एउटा प्रतिबद्ध शक्ति हो जसले आत्मसुझावलाई यथार्थमा परिणत गर्दछ।

भिजुअलाइजेसनको अभ्यासले अवचेतन मनलाई जगाउन मस्तिष्कको प्रोग्रामिङ्ग गर्नुपर्छ।मेन्टल म्यापिङ गर्नुपर्छ।स्पष्ट मानसिक चित्र निर्माणको निरन्तरको अभ्यासले बिषय वा लक्ष्यलाई कार्यरुपमानै परिणत हुन प्रेरित गरिराख्छ। शान्त रहनु,इच्छाशक्ति तिब्र हुनु,लक्ष्यमा फोकस गर्नु,चेतनशील ,अभिप्रेरित र संबेदनसिल हुनु भिजुअलाइजेसनको तत्व र प्रक्रिया हुन्।  त्यसको लागि जहिले पनि बेलुका या बिहानको खास समय छुट्याएर निरन्तर शान्त र ध्यान मुन्द्रामा रहेर  भिजुअलाइजिङ्गको अभ्यास गर्नुपर्छ।

भिजुअलाइजेसनको प्रयोग कस्तो छ?

भिजुअलाइजेसनको अभ्यास प्राचीन कालदेखि आजसम्म भैरहेको छ। श्री स्वस्थानी वर्तकथामा पार्वतीले महादेव पति पाऊँ भनी कल्पनाका साथ भिजुअलाइजिङ गर्दा गर्दै आकर्षणको नियमबाट महादेवलाई नै तानेर प्रत्यक्ष ल्याइ बिवाह सम्भब भएको कथा छ।

हावर्डका न्युरोसाइन्टिस्टहरुले  दुईवटा समूह निर्माण गरि एउटा समूहलाई हरेक पाँच दिन दुई घन्टाको दरले पियानो बजाउन लगाए र अर्को समूहलाई त्यतिनै दिन र समय मनमा औंलाले पियानो वजाएको भिजुअलाइज सहितको कल्पना गर्न लगाए। यहाँ मन र शरिरबाट मस्तिष्कमा पर्ने असर समान देखियो। कल्पनाको शक्तिबाट स्वस्थ हुनु र औषधिले स्वास्थ प्राप्त गर्नु उस्तै रहेको कुरा पत्तालाग्यो।शरीर र मनले वास्तविक र काल्पनिकलाई छुट्याउदैन।जस्तो की कागतिको कल्पनाले मुखमा आएको र्‍याल र वास्तविक कागती देखेर आएको र्‍यालमा कुनै अन्तर हुदैन।

भिजुअलाइज सहितको कल्पना  एउटा बिशाल सिर्जनाशक्ति हो। अल्वार्ट आइन्स्टाइनका अनुसार "कल्पना ज्ञानभन्दा धेरै शक्तिशाली हुन्छ।ज्ञान सिमीत छ ।कल्पनाले पृथ्वीको फेरो लगाउछ।" भनिन्छ ,उनी लगातार एक्काईस घन्टासम्म सिर्जनशिल कल्पनामा हराउथे। सामान्य सापेक्षताबादको प्रतिपादनमा कल्पनाको ठूलो हिस्सा रहेको उनी बताउछ्न्।कल्पना सफलता प्राप्तिको मार्गको एक मसुर संभावना हो।यसमा अनन्त शक्ति हुन्छ। जर्ज बर्नाड शाले कल्पनाको सिर्जनाशक्ती को बारे यसो भनेका छ्न्--"कल्पना सिर्जनाको शुरूवात हो।जे चाह्नन्छौं ,त्यो कल्पना गर्छौ।जे कल्पना गर्छौ, त्यो इच्छा गर्छौँ र अन्त्यमा जे इच्छा गर्छौं त्यो सिर्जना गर्छौँ।" हुनपनि व्यक्तिको कल्पना ,इच्छा र चाहनाको पुर्तिका लागि ब्रह्माण्ड नै लागि पर्छ भनिन्छ।

रसियन यहुदी नेतन सराइन्स्कीलाई अमेरिकाको जासुस गरेको आरोपमा  जेल चलान गरियो।जेलको अवस्था अति खराव थियो । उनलाई अन्त्यानै साघुरो ठाँउमा राखियो।उनले शारीरिक अभ्यास उल्टो गुरुत्व हुने गरि गरे तर मस्तिष्कको अभ्यासको लागि भने बच्चासँग मस्तिष्कमा चेस खेल्न थाले। त्यसपछी चेसको विश्व च्याम्पियन ग्यारी  ग्यासपक सँग दिमागमा निरन्तर चेस खेल्न थाले। जब उनी जेलबाट छुटे इजरायलको मन्त्री समेत भए।वास्तवमै पछि बिश्व च्याम्पिनले समेत नेतन सराइन्स्कीलाई चेसमा हराउन सकेन।त्यो आश्चर्यजनक परिणाम उनले निरन्तर गरेको भिजुअलाइजेसन शक्तिको प्रभावले संभव भएको थियो भनिन्छ।

अमेरिकी एक नम्बरको गल्फर ज्याक निकोलसले पूर्ण भिजुअलाइज नगरी बललाई कहिल्यै नहानेको बताउँछ्न्।खेल मनोबैज्ञानिक जन मरे पनि  पहिला भिजुअलाइज गर, बललाई चित्रमा कर्नर होल्ड गर र पूर्ण चित्र बनेपछी मात्र हान भन्ने सल्लाह दिन्छ्न।त्यस्तै दार्शनिकहरुले यसको प्रयोग गरेर आफूलाई हिल गर्न सक्छ्न्। नमन कजनले आफ्नो पुस्तक `एनाटोमी अफ इन्लेस´मा मस्तिष्कको शक्ति र बिचारको शक्तिलाई शरीर उपचारमा मेडिटेसन र निरन्तर भिजुअलाइज गर्दै डब्लु बि सी बढाएर क्यान्सरको सेललाई बडि प्रोसेस बाटै खतम गरेर  बीस बर्ष अरु बाँचेको कुरा उल्लेख गरेका छ्न्। यी र त्यस्ता प्रयोगले ल्याएको सफलता ज्यादै धेरै छ्न्।

निष्कर्ष :

भिजुअलाइजेसन एक मानसिक दृश्यात्मकता हो।यो कुनै बस्तु बिचार या लक्ष्य प्राप्तिको लागि मस्तिष्कमा निर्माण गरिने स्पष्ट मानसिक चित्र निर्माणको प्रक्रिया हो। इच्छित लक्ष्यको ध्यान ,कल्पना,भावना,आत्मसुझाव ,संकल्प,मस्तिष्क म्यापिङ र स्पष्ट चित्र निर्माण भिजुअलाइजिङको प्रक्रियाहरु हुन्। भिजुअलाइजेसनको प्रयोगले अवचेतन मनलाई शुद्धीकरण र जागरण गर्ने हुदा इच्छित लक्ष्य हासिल गर्न शरीरका अवयबहरु, मस्तिष्कका स्नायुहरु र आत्मा प्रेरित र गतिशील भएर कार्यको लागि एकीकृत हुन्छ्न्। परिणाममा कार्य सफलतामा ठूलो मद्द्त मिल्छ। यसर्थ भिजुअलाइजेसनको अभ्यास आजैबाट शुरु गर्ने हो कि...

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै