• २०८१ बैशाख ७ शुक्रबार

सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य

kharibot

धनगढी  । स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन् ।

नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् ।

९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली कांग्रेसले ३ उपप्रमुख पद जितेको छ ।

दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच चुनावी तालमेल भएको थियो । नेपाली कांग्रेसले २०७४ मा जितेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकामा यस पटक नेकपा एमालेले जीत हासिल गरेको छ ।

दार्चुलामा महाकाली नगरपालिका सहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालले जीत हासिल गरेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले दार्चुलाको लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाढ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा जीत हात पारेको छ । दार्चुला नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको गृह जिल्ला हो । 

यसैगरी नेकपा एमाले डडेल्धुरामा शून्य भएको छ । २०७४ को निर्वाचनमा डडेल्धुरा सदरमुकाम समेत रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो । तर यस पटक भने डडेल्धुरामा एमालले केही वडामा मात्रै चित्त बुझाउनु परेको छ ।

डडेल्धुराका ७ पालिका मध्य ५ मा नेपाली कांग्रेस र २ पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । डडेल्धुरा जिल्ला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । 

जहाँ सदरमुकाम रहेको अमरगढी नगरपालिका सहित गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, पर्शुराम नगरपालिका र  भागेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा भने नेकपा माओबादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा नेकपा माओवादी केन्द्र शून्यमा झरेको छ । ९ पालिका रहेको बाजुरामा अहिले सम्म ७ पालिकाको अन्तिम मत परिणाम आएको छ ।

ती मध्य ४ मा नेकपा एमाले र ३ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले उप प्रमुख समेत जित्न सकेको छैन ।

बाजुरामा अन्तिम मत परिणाम आएका मध्य ४ पालिकामा एमाले विजयी भएको छ । गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

त्यसैगरी बाजुराका ३ पालिकामा नेपाली कांग्रेसले नेतृत्व हात पारेको छ । कांग्रेसले हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपाकिा र त्रिवेणि नगरपालिकामा जीत हात पारेको छ । 

बाजुराका बाँकी २ पालिका मध्य अहिले बुढीनन्दा नगरपाकिलामा मतगणना जारी रहेको छ ।

सो पालिकामा एमाले र कांग्रेस बीचनै प्रतिष्पर्धा छ । त्यसैगरी बुढिगंगा नगरपालिकामा विबादका कारण मतदान नै हुन सकेको छैन । बुढिगंगा नगरपालिकामा पनि नेकपा आमोवादी केन्द्र कमजोर अवस्थामा छ । सो पालिकामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो ।

एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले भने दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा र अछाममा खाता खोल्न सकेको छैन ।

कैलाली, कञ्चनपुर र बझाङका केही पालिकामा भने मत गणना जारी छ । नेकपा एसले बझाङ र कैलाली एक/एक पालिकामा अग्रता लगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै