• २०८१ बैशाख ७ शुक्रबार

दुःखीका दुई साक्षत ‘भगवान’ !

kharibot

काठमाडौं । गाउँलेले ‘माम काइँली’ भनेर बोलाउँछन्, फूलमाया तामाङलाई । उनी उमेरले ७० वर्ष छेउछाउ पुगिन् । संसारमा कमै मान्छेले दुःख पाएका छन् भने ती कम मान्छेमा सायद फूलमाया पनि पर्छिन् ।

उनले दुःखको दिन र रात कटाएको वर्षौं भयो । पेटभरी खाना खाएको पनि वर्षौंदेखि हो । भएको एक छोरा पनि दुई दशकदेखि बेपत्ता छन् । ‘आखे काइँला’ भनिने उनका श्रीमान् दिवंगत भएको पनि वर्षौं भयो ।

उनको घर भने पाँचथरको तुम्बेवा गाउँपालिका–१, साविक आङना–५ रातमाटेमा छ । 

यही ३ जेठमा भने केही चिनेका र नचिनेका मानिसहरू उनको घरमा आए । चिनेकामध्येमा थिए, अजेन्द्र वाइबा तामाङ र पपेन्द्र तामाङ । दुवै जना उनी व्यवसायी हुन् । 

रातमाटे नै घर भएका अजेन्द्रसँग जिल्ला सदरमुकाम फिदिमदेखि साथमा गएका थिए, राजेन्द्र अधिकारी । उनीहरू दुवै जना माम काइँलीले केही दिन भए पनि पेटभरी खान पाऊन् भनेर चामलको बोरा लिएर हुन् ।

घरको डिलमा ५० किलो चामलको बोरा राखिएपछि माम काइँली मुस्कुराइन् । उनी तामाङ भाषा मात्र बोल्छिन् । खस–नेपाली भाषा बोल्न जान्दिनन् । र, भनिन्, ‘तिजा चु ?’ अर्थात् के हो यो ?
अजेन्द्रले भने, ‘म्ला माम । कान चाउ बिसी बासी पिन्बा ।’ (चामल हो आमै । भात खानु भनेर चामल ल्याइदिएको । 

यति भनेपछि उनी खुसी भइन् । 

उनको घरमा अन्न सकिन लागेको छ । खेत छैन । बारीमा फलेको मकैले उनलाई वर्षभरी खाना खान पुग्दैन ।  तर, राजेन्द्र र अजेन्द्रले चामल लगिदिएपछि उनलाई केही महिनाका लागि ढुक्क भएको छ । राजेन्द्रले उनलाई एउटा लुङ््गी पनि दिए । लुङ्गी थाप्दै फेरि मुस्कुराइन् माम काइँली । 

यसअघि पनि अधिकारीसहित फिदिमका अर्का युवा समाजसेवी कमल थपलियालगायतले पनि केही वर्ष वर्ष आर्थिकसँगै खाद्यन्न र लत्ताकपडा सहयोग गरेका थिए । त्यसबेला हाँसेकी माम काइँलीलाई राजेन्द्र, अजेन्द्रसहितले फेरि सहयोग गरेर हँसाए । 

माम काइँलीलाई मात्र होइन, उनीहरूले सोही गाउँका सञ्चित तामाङ र मिठुमाया तामाङलाई पनि चामल दिए ।  उनीहरूलाई पनि आफ्नो बारीमा फल्ने अन्नले वर्षभरी खान पुग्दैन । गाउँमा काम गर्न सक्ने अवस्थामा पनि उनीहरू छैनन् ।

दुवैमा शारिरीक र मानसिक अपाङ्गता पनि छ । आमा पनि कमाएर ल्याउन सक्ने स्थितिमा छैनन् । बुबा दिवंगत भएको एक दशक जति भइसक्यो ।  बेसहारा जस्तै बनेका उनीहरूलाई चामल सहयोग गरेपछि राजेन्द्र, अजेन्द्र र पपेन्द्रले फोटो खिचाए । 

यससँगै उनीहरूले गाउँकै परतेलडाँडाकी सानुमाया तामाङ र सिरानघरकी नरमायाँ तामाङलाई पनि ५० किलोका एक÷एक बोरा चामल सहयोग गरे । दिन दुःखीहरूलाई सहयोग गरेपछि राजेन्द्रले भनेका छन्, ‘उहाँहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छु ।’

राजेन्द्र चर्चित समाजसेवी हुन् । समाजसेवामा समर्पित उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भइसकेका छन् । अजेन्द्र पनि पछिल्ला समय समाजसेवामा जोडिँदै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै