• २०८१ बैशाख १३ बिहीबार

नवजोत सिद्धुलाई एक बर्षको जेल सजाय, के हो प्रकरण ?

kharibot

काठमाडौँ । भारतको पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुलाई ३४ वर्ष पुरानो दुर्घटनासमबन्धि मुद्दामा सर्वोच्च अदालतले एक वर्षको सश्रम कारावासको सजाय सुनाएको छ ।

सिद्धुको आक्रमणमा एक वृद्धको मृत्यु भएको थियो । अदालतले ४ वर्षअघि दिएको फैसला परिवर्तन गरेको हो । त्यसबेला उनलाई १० हजार जरिवाना गरेर रिहा गरिएको थियो ।

सिद्धुले पञ्जाब सरकारबाट ४५ प्रहरीको सुरक्षा पाएका थिए । दोषी ठहर भएपछि उनलाई पनि फिर्ता लैजान निर्देशन दिइएको छ ।

सिद्धु अब या त गिरफ्तार हुनेछन्, नत्र आत्मसमर्पण गर्नेछन् । पञ्जाब प्रहरीले यस मामिलामा कानूनको पालना गर्नुपर्नेछ । सर्वोच्च अदालतले सिद्धुलाई आत्मसमर्पण वा गिरफ्तारीमा रोक लगाउन कुनै राहत दिएको छैन । सिद्धुलाई आज जेल जानुपर्नेछ । सिद्धु केही समयअघि पटियालास्थित आफ्नो घर पुगेका थिए । 

यस विषयमा नवजोत सिद्धुको प्रतिक्रिया आएको छ । उनले ट्विट गर्दै कानुनको निर्णयलाई स्वीकार गरेको बताए । सिद्धु हाल पटियालामा छन् । त्यहाँ उनले कानूनी टोलीसँग थप कदमहरू छलफल गर्न सक्छन्। सर्वोच्च अदालतमा सुनुवाइ र सजाय सुनाइरहँदा सिद्धुले मुद्रास्फीतिको मुद्दामा केन्द्र सरकारको विरोध गरेका थिए । सिद्धुले हात्तीमा बसेर प्रदर्शन गरेका थिए । सेप्टेम्बर २०१८ मा, उनले सजायको बिरूद्ध समीक्षा याचिका दायर गरेका थिए ।

के थियो घटना 

२७ डिसेम्बर १९८८ मा, सिद्धुले ६५ वर्षीय गुरनाम सिंहसँग पटियालाको पार्किङमा झगडा भएको थियो । सो झगडामा सिद्धुले गुरनाम सिंहलाई मुक्का प्रहार गरेका थिए र सिद्धुले हानेको चोटका कारण सिंहको मृत्यु भयो । सिद्धुविरुद्ध अपराधिक हत्याको मुद्दा दर्ता भएको थियो । ट्रायल कोर्टले सिद्धुलाई सफाइ दिएको थियो तर पछि उच्च अदालतले उनलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो ।

यस मुद्दामा सरकारको तर्फबाट मुद्दा लडिरहेका सरकारी वकिलले अदालतमा सिद्धु र उनका साथी रुपिन्दर सिंह सन्धु घटनाको दिन पटियालाको शेरनवाला गेट नजिक जिप्सीमा गएको दाबी गरेका थिए । पीडित गुरनाम सिंह अन्य दुईजनासँग मारुती कारमा यात्रा गरिरहेका थिए ।

गाडी हटाउने विषयमा नवजोत सिद्धु र उनका साथीको गुरनाम सिंहसँग विवाद भएको थियो । यसै क्रममा गुरनाम सिंह लडेका थिए र पछि उनको अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरी रेकर्डका अनुसार घटनापछि नवजोत सिंह सिद्धु र उनका साथी भागेका थिए । पछि मृतकका आफन्तको उजुरीमा सिद्धु र उनका साथीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

तल्लो अदालतले निर्दोष ठहराएपछि, मुद्दा हाईकोर्टमा पुग्यो जहाँ सिद्धु र उनका साथीलाई २००६ मा तीन-तीन वर्षको सजाय सुनाइएको थियो भने दुवैलाई एक–एक लाख जरिवाना समेत गरिएको थियो ।

गुरुनाम सिंहको मृत्युबारे डाक्टरहरूको राय स्पष्ट नभएको दाबी गर्दै उच्च अदालतको निर्णयलाई सिद्धुले सर्वोच्च अदालतमा चुनौती दिएका थिए ।

सर्वोच्च अदालतले सन् २०१८ मा सिद्धुलाई सफाइ दिएको थियो । त्यसविरुद्ध अर्को पक्षले पुनरावेदन दायर गरेको थियो । यस अपीलमा अब अदालतले सिद्धुलाई दोषी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाएको हो ।

सिद्धु भारतीय पुर्व क्रिकेटर पनि हुन् । सन् १९८३ देखि १९९९ सम्म भारतीय क्रिकेट टोलीका सदस्य थिए । उनले ५१ टेस्ट र १३६ एकदिवसीय खेलेका छन् । १९८७ मा, उनी विश्वकप खेल्ने भारतीय क्रिकेट टोलीको एक सदस्य थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै