अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

kharibot

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन् । 

यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन् । तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् । 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई/दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक-एक जना उपप्रमुखमा निर्वाचित भएका छन् । 

यसैगरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् । कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक-एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । 

यस्तै महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित भएको आयोगले जनाएको छ । अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । 

सम्बन्धित समाचार