• २०८१ बैशाख १४ शुक्रबार

को हुन् धरानको मेयर जितेका हर्क साम्पाङ ?

kharibot

काठमाडौँ । धरानमा हर्क साम्पाङ परिचित नाम हो ।  विभिन्न सामाजिक अभियान चलाउदै आएका उनी हर्क अब धरान उपमहानगरपालिकाको मेयर बनेका छन् । हर्क गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका किशोर राईलाई पराजित गर्दै मेयर बनेका हुन् ।    

खानेपानी आन्दोलन, भ्रष्टाचारविरुद्धको आन्दोलन अभियन्ता हर्क सर्दु जलाधार बचाउ आन्दोलनका अभियन्ताका रुपमा धरानबासीले चिन्दछन् । अब अभियन्ताबाट उनै हर्कलाई धरानबासीले धरान उपमहानगरको नेतृत्वमा पुर्याएका छन् । 

यस निर्वाचनमा धरानमा रहेको खानेपानीको हाहाकारलाई हर्कले सप्तकोसीबाट पानी ल्याएर धरानवासीलाई खुवाउने प्रतिबद्धता जनाएका छन् । यस चुनावमा धरानमा खानेपानी सबैभन्दा ठुलो एजेण्डा रहेको स्थानीयहरुले बताएका छन् । यसैकारणले खानेपानीको चरम अभाव भोगेका धरानका मतदाताले यस पटक हर्कको लौरो रोजेका छन् ।

सामान्य भाषामा बोल्ने, साधारण व्यक्तित्व र आम जनताका समस्या बुझेका हर्कले धरानमा कांग्रेस एमालेका नेताहरुको प्रवृत्तिले धराने जनताले आफुलाई रोज्ने बताउदै आएका थिए । उनले चुनावका क्रममा मुख्यगरी दुई वटा बाचा गरेका छन् । पहिलो खानेपानी र दोस्रो विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सुधार । उनले आफुले स्मार्ट सिटि बनाउने बाचा नगर्ने भन्दै धरानलाई उत्पादनतर्फ लैजाने जसका लागि युवाहरुलाई प्रयोग गर्ने बताएका छन् । साथै उनले चुनावका क्रममा धरानमा खानेपानीको समस्या समाधान गर्न नसके आफु धरानमै नबस्ने समेत बताएका छन् ।

२०७२ सालमा धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि आन्दोलन गर्न बनेको संघर्ष समितिमा हर्क सहसंयोजक थिए । सानै देखि विद्रोही स्वभावका हर्क यहि अभियानदेखि सामाजिक अभियानमा होमिएका थिए । उनी २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए । त्यसबेला उनले केवल ४२२ मत पाएका थिए ।  

खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका  हर्क साम्पाङले महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्।

पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए, र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताएका थिए । साहित्यमा रुचि भएका उनी आंफै गीत लेख्छन्, गाउँछन्। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एल्बम पनि निकालेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै