• २०७९ श्रावण २३ सोमबार

काँग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात

kharibot

काठमाडौं । नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ ।  यसअघि पराजय भए निकालिने निष्कर्ष सत्ताको चरम दुरुपयोग, धाँधली र पैसाको खोलो बगाएको भन्ने हुन्थ्यो । 

तर, यस पटक पार्टी अध्यक्ष केपी शर्मा ओली नै अन्तर्घात भएको निष्कर्षमा पुगे ।

३० वैशाखमा निर्वाचन भएर मतगणना जारी रहेकैबेला महासचिव शंकर पोखरेलले भने १ जेठमा विज्ञप्ति निकाल्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित नभएको देखि एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको सँगै सत्ताको चरम दुरुपयोग भएको आलोचना गरेका थिए । 

निर्वाचन परिणाम आइसक्न लाग्दा भने अध्यक्ष ओली पार्टीले पराजय बेहोर्नुको कारणमध्येमा अन्तर्घात पनि भएको निष्कर्षमा पुगेका हुन् । 

महानगरपालिकाहरूमा पार्टीका उपप्रमुख पदका उम्मेदवारहरूले मात्र निर्वाचन जितेपछि बुधबार संसदीय दलको बैठकमा ओलीको यस्तो निष्कर्ष आएको हो । एमालेले यस अघि जितेको काठमाडौँ र पोखरामा अन्तर्घातकै कारण मेयर पद गुमाएको एमालेमा भरतपुरमा पनि यस अघिको भन्दा धेरै मत घटेको देखिएको छ ।  

पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि न्युज कारखानासँग भन्छन्, ‘हाम्रो पार्टी (एमाले) मा यस्तो अन्तर्घात यसअघि देखिएको थिएन । उम्मेदवार चयनमा कमजोरी हुँदा यस्तो भएको हुन सक्छ ।’

नेपाली कांग्रेसले २९ वर्षदेखि अन्तर्घात सहँदै आएको छ । उम्मेदवार चयनमा चित्त नबुझेका नेता, कार्यकर्ताहरूले निर्वाचनमा असहयोग गरेर पार्टीका आधकारिक उम्मेदवारहरूलाई पराजित गर्नुलाई अन्तर्घात भनिँदै आएको छ । 

२०५० सालमा काठमाडौंमा भएको उपनिर्वाचनमा पहिलो पटक कांग्रेसमा अन्तर्घातको चर्चा चलेको थियो । 

अन्तर्घात गर्ने नेता गिरिजाप्रसाद कोइराला र उनले अन्तर्घात गर्दा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई वर्तमान राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीसँग पराजित हुनुपरेको अहिले पनि कांग्रेस नेताहरूले बताउँदै आएका छन् । 

त्यही उपनिर्वाचन यता कांग्रेसले हार भए अन्तर्घात प्रमुख कारण मान्दै आएको छ । 
 

सम्बन्धित खबर

लोकप्रिय