• २०८१ बैशाख ७ शुक्रबार

बागलुङका नेवार समुदायले परम्परागत शैलीमा फागु पर्व मनाए

kharibot

फाइल तस्बिर

बागलुङ । यहाँको नेवार समुदायले यो वर्षको फागु पर्व होली परम्परागत शैलीमै मनाए । नेपाल भाषा मंका खल बागलुङले पुरानै विधि र स्वरुपमा होलीलाई पुनर्जागरण गरेको होे । 

गुम्नै लागेको होलीको मौलिकता जोगाइएको नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । बागलुङको नेवार समुदायमा होलीको इतिहास ३०० वर्ष पुरानो छ । ‘पहिलेकै पुस्ताले झैँ दुरुस्त गर्न नसके पनि होलीको पहिचान मर्न दिएनौँ,’ अध्यक्ष राजभण्डारीले भने ।

खलको नयाँ नेतृत्वले होलीलाई व्यवस्थित र संस्थागत गरेको संस्कृतिकर्मी प्रेम छोटाले बताए । आधुनिक संस्कृतिको जगजगी भएका बेला परम्परा टिकाउनु ठूलो उपलब्धि भएको उनको भनाइ छ । 

‘फागु पर्वको ऐतिहासिक महत्व छ, यसको आफ्नै पन छ,’ संस्कृतिकर्मी छोटाले भने, ‘यसको संरक्षण हुनुपर्छ ।’ फागुमा गाइने गीतको मौलिकता हराइसकेको उनको अनुभव छ । अहिलेको पुस्ताले गीत गाउने प्रयास गरे पनि त्यसको मर्म टुटेको संस्कृतिकर्मी छोटाले बताए । 

खलको प्रयासमा यो वर्ष फागुको गीत गाउँदै, रंग खेल्दै स्थानीयवासीले नगर परिक्रमा गरेका थिए । फागुमा पुजिने भगवानलाई भोग दिने, पूजाआजा गर्ने, फागुको गीत गाउँदै फर्कने चलन पछिल्लो समय हराएको थियो । 

होलीमा कालिका भगवती मन्दिरमा नेवार समुदायले गर्ने पूजाआजा पुनः शुरु गरिएको खलका अध्यक्ष राजभण्डारीले बताए । ‘पछिल्ला वर्षहरुमा पूजाआजा गर्ने चलन टुटेको थियो,’ उनले भने, ‘बोकाको भोगसहित कालिका भगवती र गणेश मन्दिरमा विशेष पूजाआजा गर्यो ।’ 

पूजाआजापछि नौबिसेटोलस्थित भोटे बारीमा जम्मा भई भोज ग्रहणपछि फागुको गीतमा नाचगान गर्दै, रंग खेल्दै बजार परिक्रमा गरिएको उनले उल्लेख गरे । नेवारहरुले गैरनेवार समुदायका पाहुनालाई पनि आमन्त्रण गरेर भोज खुवाउने र सँगै होली खेल्ने चलन बसालेका छन् । 

फागु पर्वको उल्लास वर्षेनी बढ्दै गएको स्थानीयवासी महेशचन्द्र प्रधानले बताए । कलाकारसमेत रहेका प्रधानले फागु गीत–संगीतको मौलिकपन नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको उल्लेख गरे । 

‘हामीले बचाउने कोसिस त गरेका छौँ, तर यो अप्रयाप्त छ,’ उनले भने । मौलिक संस्कृतिको संरक्षणका योजना बनाएर लाग्नुपर्ने प्रधानको सुझाव छ । प्रेम, सद्भाव र भाइचाराको प्रतीकका रुपमा मानिने फागु पर्व होली को मूल्य र परम्परा धान्नु आफैँमा महत्वपूर्ण कार्य हो । रंगहरुको पर्व भनेरसमेत चिनिने होलीको प्रभाव हिजोआज शहर हुँदै गाउँसम्म फैलिएको छ । 

होलीलाई विशेष गरी शहरी युवाले धुमधामसँग मनाउने गरेका छन् । हिन्दू परम्परामा प्राचीन पर्वको ठाउँ ओगटेको होली एकापसमा रङ खेलेर मनाउने चलन छ । 

युवा पुस्ताले होलीलाई स्वच्छन्द रुपमा मनाउन चाहन्छ । यो वर्ष पनि ‘डिजे लाइभ कन्सर्ट’ सहित यहाँका युवाले उल्लासपूर्ण वातावरणमा होली मनाए । हिन्दू संस्कृतिमा होली पर्वलाई भगवान् विष्णुका परम भक्त प्रह्लादसँग जोडेर हेर्ने गरिन्छ । 

सत युगमा हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनकी फूपू होलिकाले आगोमा भष्म पार्न लाग्दा आफैँ आगोमा भष्म भएको दिनदेखि होली पर्व शुरु भएको किंवदन्ती छ । होली पर्व वर्षेनी फागुन शुल्क पूर्णिमाको दिन मनाउने गरिन्छ । वसन्त ऋतुमा पर्ने हुँदा फागु पर्वलाई प्रेम र यौनिकतासँग पनि जोडेर हेरिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै