• २०८१ बैशाख ६ बिहीबार

 नवलपुरमा सुरुङमार्गदेखि ट्रमा सेन्टरसम्मका लागि बजेट

kharibot

नवलपुर। सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० का लागि  अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दै नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका विभिन्न योजना प्रस्तुत गरेका छन् ।

पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीबासबाट नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटसम्म सुरुङ मार्गका लागि अध्ययन गरिने कुरा बजेटमा उल्लेख छ  । दुम्कीबास–बर्दघाटसहित अन्य राजमार्गको सुरुङ मार्ग विस्तारका लागि  एक अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ । 

त्यस्तै उत्तर दक्षिण राजमार्गअन्तर्गत निर्माणाधीन कालीगण्डकी कोरिडोर, कर्णाली कोरिडोर र कोसी कोरिडोरका लागि जम्मा रु चार अर्ब ६९ करोड विनियोजन गरिएको छ ।

कालीगण्डकी करिडोरले भारत र चीनलाई छोएको छ । यो करिडोर नवलपुरको त्रिवेणीधामदेखि पाल्पा, बागलुङहुँदै चीनको कोरला नाकामसम्म पुग्दछ । 

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने  र आगामी वर्ष नारायणघाट–बुटवलखण्ड विस्तार गरिने भएको छ ।  

अहिले यो खण्ड विस्तारको काम करिब १६ प्रतिशत मात्रै पूरा भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्नका लागि नारायणी नदीमा बहुउपयोगी सिग्नेचर पुल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकासहित कैलालीको लम्की, कर्णाली कोरिडरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ  ।

त्यसैगरी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका, चितवनको कठार र महोत्तरीको मटिहानीमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने भएको छ । 

देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृत रूपमा सरकारी कार्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै