नेपाली कीर्तिमान र ‘बुद्ध’

खरीबोट
ad

काठमाडौँ  । एक हप्तापहिले नै अर्थात् यही फागुन १९ गते शनिबारको निकै चर्चा थियो । काठमाडौंका अधिकांश विद्यालय-कलेजहरू, विभिन्न संघ-संस्थादेखि लिएर घर÷टोलसम्म एउटा सन्देश प्रवाह भएको थियो ‘नेपालले एउटा नयाँ कीर्तिमान् कायम गर्न जाँदै छ, एकैचोटि एउटै ठाउँबाट सबैभन्दा बढी मान्छेहरूले बुद्धको वाणी वाचन गरेको कीर्तिमानमा सबैले सहभागी हुनुपर्छ ।’ 

यसलाई अझै थप व्याख्या गरिएको थियो, ‘बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश दिन सबै जना जानैपर्छ, यो हाम्रो निम्ति सुनौलो अवसर हो ।’ साँच्चै बुद्धप्रतिको आफ्नो श्रद्धा प्रकट गर्न र सो कीर्तिमानमा आफ्नो पनि भूमिका जनाउन हजारौँ मानिसहरू टुँडिखेलमा जम्मा भए । कार्यक्रममा देशका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूदेखि लिएर कलाकार, पत्रकार, शिक्षक÷विद्यार्थीसम्म सबैले उपस्थिति जनाए । 

यसलाई धेरैले ऐतिहासिक क्षण भने । कसैले यो कार्यक्रमलाई विश्वसामु बुद्धजन्मस्थलबारे प्रचार गर्ने एकदमै राम्रो अवसर भने । केहीले ‘हाम्रा केही दशक त बुद्ध वाज बर्न इन नेपाल प्रमाणित गर्नमै जाने भए’ भन्ने तर्क पनि गरे । जे होस्, उद्देश्यअनुसार कार्यक्रम सफल पनि भयो भनियो । 

हाम्रो देशमा बुद्धको नाममा वर्षेनी केही कार्यक्रमहरू आयोजना गरिन्छन् । वर्षमा एकचोटि बुद्धजयन्ती मनाइन्छ । 

सरकारीस्तरबाट एक दिन सार्वजनिक विदा दिइन्छ । त्योबाहेक बुद्ध वा बुद्धले देखाएको बाटाको बारेमा खासै चर्चा परिचर्चा भएको देखिँदैन । बुद्धको ज्ञान सबैमाझ फैलाउने कुनै कार्यक्रम देखिँदैन । सात समुद्रपारिबाट कुनै धर्मको प्रचार गर्दै र बाइबल बाँड्दै मानिसहरू हाम्रो ढोकासम्म आइपुगेका छ्यापछ्याप्ती पाउँछौँ तर हाम्रै देशमा जन्मेको विचार हामीकहाँ अझै आइपुगेको छैन, न त हामी त्यो विचारको पछाडि नै जानसकेका छौं । विद्यालय पाठ्यपुस्तकहरूमा पनि अपवादबाहेक बुद्धबारे यथेष्ट विषयवस्तु राखिएको छैन । 

विशेष गरी बुद्धलाई कुनै धर्म वा सम्प्रदायको रूपमा सीमित गरिएको छ भने कहीँकतै मौसमी राजनीतिक लाभको लागि पनि प्रयोग गरिएको पाइन्छ । बुद्धमूर्ति र सामान्या आस्थाको रूपमा मात्रै सीमित छन् । यसबाहेक ‘बुद्ध नेपालमा जन्मिएका होइनन्’को प्रतिवादको रूपमा यो विषयले निकै चर्चा पाउने गर्दछ । हामीले बुद्ध नेपालमा जन्मेका होइनन् भन्नेहरूको प्रतिवाद एउटा विषय होला जुन त्यति आवश्यक नहुन पनि सक्छ तर यो सँगसँगै टुँडिखेलमा देखिएका हाम्रा नेतृत्वपंक्तिलाई केही प्रश्नहरू सोध्नु आवश्यक छ ।

टुँडिखेलमा घाँटी सुक्ने गरी ‘बुद्ध वाज बर्न इन नेपाल भनेर चिच्याउने प्रधानमन्त्री-पूर्वप्रधानमन्त्रीहरूले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको बेला वा भारतीय समकक्षीहरूसँग भेट हुँदा यो विषय कतिचोटि उठाउनुभयो ? भारत र विश्वका विभिन्न विश्वविद्यालय र विद्यालयस्तरीय पाठ्यपुस्तकमा लेखिएको बुद्धसम्बन्धी गलत प्रचारलाई हटाउन राज्यको तर्फबाट के–के कदम चाल्नुभयो ?  आयातित झण्डा र विदेशी महापुरूषहरूका जीवनी समेटेर राजनीतिक सिद्धान्तहरू र वादहरू बनाइरहँदा बुद्धको बाटोलाई कतिको समेट्नुभयो ?  दलहरूका ब्यानर वा व्यवहारमा किन कतै पनि बुद्धलाई पाउनसकिएन ? हिजो हिंसा र रगतको बाटोमा लडीबुडी खेल्दै यहाँसम्म आइपुग्दा आज बुद्ध र शान्तिको बाटो नै उत्तम हो भनेर कसरी प्रमाणित गर्नुहुन्छ ?  के साँच्चै संसारले तपाईंहरूलाई पत्याउँछ ? हामी नेपालीहरूले चिन्तन र चिन्ता गर्नुपर्ने महत्वपूर्ण प्रश्नहरू हुन् । 

यदि यी प्रश्नहरूको उत्तर दिनसक्ने क्षमता नेताज्यूहरू वा सरकारी उच्च अधिकारीहरूमा छैन भने हामीले बुझ्नुपर्छ यहाँ राज्यस्तरबाटै बुद्धको सम्मान भएको छैन, मात्र ‘बुद्ध सेन्टिमेन्टको उपयोग गरिएको छ ।  

लेखक : लक्ष्मण पन्त 

गौतम बुद्धको सम्मानको निम्ति र यो देशलाई साँच्चै बुद्धको देश बनाउनको निम्ति उनको नाममा एकाध कीर्तिमान बनाउनुभन्दा पनि यो देशमा विद्यमान थुप्रै कुकीर्तिमानहरू तोड्नु आवश्यक छ । 

आज आफूलाई बुद्धको देशको मान्छे भन्न हामीले लाज मान्नुपर्ने अवस्था छ । किनकि एक्काईसौँ शताब्दीमा पनि मान्छेलाई बोक्सी भनेर मलमूत्र कोचाइएका कीर्तिमानहरू हाम्रै देशमा छन् । छाउपडीको नाममा आफ्नै आमा, बहिनी र भाउजूलाई अँध्यारो गोठमा सर्पको आहारा बनाइएका कीर्तिमानहरू कसैबाट लुकेका छैनन् । पानीको कुवा छोएको निहुँमा मरणासन्न हुने गरी कुटिएको कसैबाट लुकेको छैन । त्यस्तै कालोबजारी गर्न पाउनुपर्छ, जनता ठग्न पाउनुपर्छ भनेर आन्दोलन गरिएका कीर्तिमानहरू, प्रहरीले अपराधमा सहभागी भएका र अदालतले घुस खाएका कीर्तिमानहरू छर्लङ्गै छन् ।

देशको कीर्तिमानमा प्रतिबद्धता जनाउन टुँडिखेल पुगेका राजनेताहरू देख्दा कूटनीतिक मर्यादाविपरीत देशका प्रधानमन्त्रीहरू र उच्च नेताहरू विदेशी राजदूतकहाँ दण्डवत् प्रणाम गर्न गएका कीर्तिमानहरू, विदेशमा हुने गरेका गोप्यवार्ता र तिनीहरूका रेकर्डविहीन छलफलका कीर्तिमानहरू, समानुपातिकको नाममा डेटिङ पार्कजस्तै संसद् भवन छिरेका जोडीहरूका कीर्तिमानहरू, आर्थिक सहायता र उपचारको नाममा राज्यको ढुकुटी रित्याएर थाइल्याण्ड र सिङ्गापुरमा पिकनिक मनाइएका कीर्तिमानहरू र देशको पूर्वउपराष्ट्रपतिजस्तो मान्छेले आफ्नै देशलाई खुलेआम माग्नेको संज्ञा दिएका कीर्तिमानहरू बुद्धको सन्देशविपरीत कीर्तिमानहरू हुन् र सच्याउनैपर्ने कुकीर्तिमानहरू हुन् । 

त्यसबाहेक एउटा खुट्टाको उपचार गर्न गएको बिरामीको अर्को खुट्टा चिरिएका कीर्तिमान र अस्पतालबाटै बिरामीको मिर्गौला चोरिएका कीर्तिमानहरू पनि देशको निम्ति दुर्भाग्यका कुकीर्तिमानहरू हुन् । अब हामीले नयाँ कीर्तिमान बनाउनुभन्दा पनि यी पुराना र हाम्रो देश-समाजमा गडेर रहेका कुकीर्तिमानहरू मेटाउन आवश्यक छ । 

संसारसामु बुद्ध जन्मेको नमूना देश बनाउनु हाम्रो पहिलो चुनौती हो । हामीले घाँटी चिच्याएर भन्नैपर्ने छैन — ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दै । हामी बुद्धको देशको मान्छे भन्ने त अनि मात्रै संसारले पत्याउनेछ । 

हामी बुद्धको देशको मान्छे, हामी निकै गर्व गर्दछौँ । हुन पनि हो बुद्ध हाम्रो निम्ति गर्वकै विषय हुन् । तर कहिलेकाहीँ हामी यस्ता विषयहरूमा आवश्यकताभन्दा बढी नै उद्वेलित हुन्छौं, भावनात्मक हुन्छौं र वास्तविकता बिर्सिन्छौँ । हामीले बुझ्नुपर्छ हाम्रो माटोले बुद्ध जन्मायो तर हुर्काउन सकेन । आज संसारले बुद्धलाई हुर्काइरहँदा हामी बुद्धको विचार हुर्काउनतिर नलागेर मात्र जन्मेकोमा गर्व गरेर बसिराखेका छौँ । 

एकातिर संसारमा कतै काम नलागेको ओइलिएको वादको बिरूवा मलजल गरेर हराभरा बनाउन खोज्दै छौँ, अर्कोतिर बुद्धको नामले संसारले हामीलाई चिनोस् भन्ने चाहन्छौँ । हिंसाका अनुयायीहरूको तस्बिरको मुनि बुद्धको नाममा दियो बालिराखेका छौँ । अब बुद्ध जन्मेकोमा गर्व गर्नको निम्ति बुद्धको विचार हुर्काउने बेला आएको छ । नेपाल र नेपालीले बुद्धको बाटो पछ्याउने बेला आएको छ । बुद्धको वाणी पहिले हामीले बुझ्न सक्नुपर्दछ अनि अरूलाई बुझाउनुपर्दछ । 

हिजोदेखि पछ्याउँदै आइरहेका आयातित र नेपालको माटोमा नसुहाउने वादहरूलाई उखेलेर बुद्धमार्ग रोप्ने बेला आएको छ । सबैभन्दा पहिले त हामी आफैँ बुझ्नु आवश्यक छ — बुद्ध मूर्ति होइन, चेतना हो । बुद्ध पुज्ने होइन बुझ्ने कुरा हो । बुद्ध विषय होइन, बुद्ध बाटो हो ।
 

सम्बन्धित समाचार

तपाईं हामी पनि उत्तिकै दोषी छौँ !

‘अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन्’ यो वाक्यांश सानैमा विद्यालय जीवनमै पढेको कुरा हो । कैयौँचोटि यसै विषयमा भाषण पनि गरियो होला । कैयौँचोटि लेखियो होला । शब्दको


z