• २०८१ बैशाख ७ शुक्रबार

जनगायक जीवन शर्मा पुरस्कृत

kharibot

बागलुङ । जनगायक जीवन शर्मा बागलुङमा स्थापित ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन् । पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु. २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र आज प्रदान गरे । 

सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए  । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताए । 

“पुरस्कारले प्रेरणा र उर्जा थपेको छ”, उनले भने, “कुनै बेला हामीले गीत गाउँदा हत्कडी लगाइन्थ्यो, अहिले गलामा फूलको माला छ ।” सोही समारोहमा शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँ बसी...’ सुनाएका थिए ।

बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मेका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय छन् । रक्तिम सांस्कृतिक अभियानका संस्थापकसमेत रहनुभएका शर्माका ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’, ‘छेकेर छेकिन्न’ लगायतका गीत चर्चित छन् ।

स्मृति कोषले भदौरे नाचको संरक्षण र उत्थानमा योगदान पु¥याएको भन्दै ज्ञानोदय बुद्ध बिहार बागलुङलाई पनि पुरस्कृत गरेको छ । रु. २० हजार राशिको उक्त पुरस्कार बिहारका अध्यक्ष लिलाम्बर बज्राचार्यलाई प्रदान गरिएको थियो ।

कलाकार बाबुराम बज्राचार्य र उनकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उनका  परिवारजनले विसं २०६६ मा स्मृति कोष खडा गरेका थिए । कोषबाट यसअघि मूर्तिकार ओम खत्री, कलाकार विक्रम श्रेष्ठ, लक्ष्मण शाक्यलगायत पुरस्कृत भइसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै