• २०८१ बैशाख ७ शुक्रबार

उत्तरकोरिया नयाँ आणविक परीक्षणको अन्तिम चरणमा

kharibot

वासिङ्टन । उत्तरकोरियाले नयाँ आणविक परीक्षणको तयारी पूरा गरिसकेको जनाउँदै दक्षिणकोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञले  देशको शीर्ष नेतृत्वको राजनीतिक निर्णयले मात्र त्यसलाई अगाडि बढ्नबाट रोक्न सक्ने बताएका छन् ।

वासिङ्टनमा विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तापछि दक्षिणकोरियाली विदेशमन्त्री पार्क जिनले नयाँ आणविक परीक्षणलाई उत्तरकोरियाले अगाडि बढाए त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए । प्योङयाङले अब गर्ने आणविक परीक्षण सातौँ हुनेछ ।

“उत्तरकोरियाले अर्को आणविक परीक्षणको तयारी पूरा गरिसकेको छ, त्यसलाई राजनीतिक निर्णयले मात्र रोक्नसक्नेछ । यदि उसले अर्को आणविक परीक्षण गर्छ भने त्यसको प्रतिरोध गर्दै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू थप सुदृढ बनाउनुपर्नेछ । उसले आफ्नो सोच परिवर्तन गर्नुपर्छ र सही निर्णय लिनुपर्छ,”विदेशमन्त्री पार्कले भनेका छन् । 

उनले प्योङयाङमाथि प्रतिबन्ध बाहेक कस्तो मूल्य चुकाउनुपर्ने वा भावी प्रतिरोध नीति कस्तो हुने भन्नेबारेमा भने केही बताएका छैनन् ।

सोमबारअघि अमेरिकी र दक्षिणकोरियाली अधिकारीहरूले उत्तरकोरिया नयाँ आणविक परीक्षणको तयारीहरू पूरा गर्ने चरणमामात्र रहेको बताएका थिए ।

विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका तथा उसका सहयोगी दक्षिणकोरिया र जापानले आफ्नो सैन्य व्यवस्थापन अल्पकालीन एवम् दीर्घकालीन रणनीतिका साथ समायोजन गर्न सक्ने उल्लेख गर्दै अन्य राष्ट्रसँग निकट सम्पर्क एवम् समन्वयमा रहेर तयारी गरिरहेको बताए ।

उनले यसका अतिरिक्त उत्तरलाई निरन्तर दबाब दिइरहने रहने र उपयुक्त भएमा त्यसलाई बढाउने जनाए ।

दुवै देशका विदेशमन्त्रीले पूर्व शर्त बिना वार्तामा आउन उत्तर कोरियालाई आह्वान गरे ।  अमेरिकी विदेशमन्त्री पछिल्ल दिनमा गरिएको वार्ताको आह्वानलाई वेवास्ता गरेकामा खेद व्यक्त गरे । 

उत्तरकोरियाली नेता किम जोङ उनले बाहिरी खतराहरूको सामना गर्न ठूलो रक्षा क्षमताको लागि आह्वान गरेको भोलिपल्ट आइतबार समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिणकोरियाली सेनाले बताएको थियो । केही विज्ञहरूहरूले उत्तरकोरियाको आणविक परीक्षणको तयारीलाई आफूविरुद्धका अन्तर्राष्ट्रिय प्रतिबन्ध खुकुलो पार्न र आफ्ना प्रतिद्वन्द्वी वासिङ्टन र सोललाई दबाब दिने प्रयासका रूपमा टिप्पणी गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै