• २०८१ बैशाख ७ शुक्रबार

रुस्लानसँगको सहकार्यमा ‘शत्रु गते’ ले मोफसल टुर गर्ने

kharibot

काठमाडौँ । पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर गर्ने भएको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उदेश्यले फिल्मको मोफसल टुर गर्न लागिएको हो । 

टुरलाई रुस्लान भोड्काले सहयोग गरेको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य , किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन । 

टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् । टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौडा , २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक र ३० गते इटहरीमा हुनेछ । 

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । 

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

अभिनेता हरिवंश आचार्यले मोफसल टुरमा पुगेर दर्शक तथा स्थानीय सञ्चारकर्मीसंग भेटघाट गर्न आतुर रहेको बताएका छन् । ‘यस टुरमा मैले दर्शकसंग साक्षात्कार त गर्ने नै छु साथै आफ्नो प्रस्तुति पनि पस्किने छु । मैले आफ्नो चर्चित गीत संगीत समेत गाउनेछु ।’ आचार्यले बताए । 

अर्का अभिनेता किरण केसीले टुरमा प्रस्तुतिका साथै फिल्मको प्रचारप्रसार पनि गर्ने बताए । ‘हामीले आफ्नो प्रचारप्रसार सामग्री त दर्शक माझ पुर्याईसकेका छौ,  तर त्यसको प्रभाव के छ भन्ने बुझनको लागि पनि यो टुर आवश्यक रहेको छ । हामी दर्शकको फिडब्याक पनि प्रत्यक्ष रुपमा बुझनको लागि यो टुर गर्न लागेका हौ’ उनले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै