• २०७९ श्रावण २३ सोमबार

योगलाई अभियानका रुपमा लैजानुपर्छ- नेता पोख्रेल

kharibot

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएका छन् ।

योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज यहाँ आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएका हुन् ।

योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उनले यसलाई समयानुकूल बनाउँदै लैजानु  आजको आवश्यकता रहेको बताए ।

उनले भने, “योग अहिलेको युगअनुरुप रहेको छ । यसलाई समयानुकूल बनाउँदै लैजानुपर्छ ।”

आफू शिक्षामन्त्री हुँदा योगलाई पाठ्यक्रममा समावेश गर्ने भनी निर्णय गरेको जानकारी गराउँदै उनले यसलाई पाठ्यक्रममा राखेर स्कुलदेखि नै सिकाउँदै लैजानुपर्ने बताए । शिक्षा क्षेत्रमा यसको विकासले समाजको परिवर्तन सम्भव हुने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले  तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा नरहेको बताए । उनले भने, “सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । यो समयमा मन्त्री फेरबदल गर्नु राम्रो हुँदैन ।”

अर्थमन्त्रीले र सरकारका मन्त्रीहरुले संसद्मा जवाफ दिने क्रम जारी रहेको बताउँदै उनले पछिल्लो राजनैतिक गतिविधिका बारेमा केन्द्रको १५ गतेपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले योगले जीवन परिवर्तन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका नारायण गौतमले योग जीवनको पद्धति भएको बताए । म योगी हुँ भन्ने भावनाले यसको विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो । 

सो कार्यक्रममा चिकित्सालयका कार्यवाहक अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, योगी नरहरिनाथ बागिश्वरी आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पिया, चिकित्सालयका मेडिकल निर्देशक डा हेमराज कोइरालाले योगको महत्वका बारेमा प्रकाश पाएका थिए ।  
 

सम्बन्धित खबर

लोकप्रिय