• २०८१ बैशाख ४ मंगलबार

न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बोलाइयो

kharibot

काठमाडौँ । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्याय क्षेत्र तरंगित बनेको छ ।

न्यूज २४ टिभीले मंगलबार साँझ न्यायाधिश कोइराला र अधिवक्ता पोखरेलबीचको करिब १० मिनेटको अडियो सार्वजनिक गरेको हो ।

यो विषय सम्बेदनशील भएको सामाजिक सञ्जाल र मिडियामा बहस भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो न्यायपरिषद्को बैठक बोलाएका छन् ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने अधिवक्ता पोखरेलले न्यायाधिश कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने शर्त राखेको सुन्न सकिन्छ ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने अडियोमा बताएका छन् ।

यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकेको छैन ।

यो घुसको डिल भएको समय, २०७८ पुसमा उनी नेपाल बार एशोसिएसनको कोषाध्यक्ष थिए । न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिएका छन् ।

उक्त समयमा नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश जबरामा न्यायिक विचलन आएको भन्दै उनको राजीनामा मागेर आन्दोलनमा थियो। अधिवक्ता पोखरेल भने खुलेरै बारको आन्दोलनको विरोधमा र प्रधानन्यायाधीश जबराको पक्षमा लागेका थिए ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गतवर्षको असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै