• २०८१ बैशाख ८ शनिबार

जुम्लामा खानेपानी आयोजनाले स्थानीयवासी हर्षित

kharibot

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित दुर्गम बारागाउँमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

सो गाउँका ५१ वर्षीय पुनिबल रावतका अनुसार चार दशक पिउने पानीकै लागि संघर्ष गर्नुपर्यो । 

एक गाग्री पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने र कसैले भुलेर पालो मिचेपछि आपसमा हुने द्वन्द्वका दुःखद क्षण पुनिबल अहिले पनि झलझल्ती सम्झिन्छन्  ।

गाउँमा वर्षैदेखि खानेपानी अभाव हुँदाको पीडा पुनिबल भन्दा बारागाउँकी सन्तली रावतले बढी भोग्नु परेको छ ।

एक गाग्री पानीका लागि घर छिमेकीसँग भनाभन हुने, कुटाकुट हुने, समयको बचत नहुने अझ रित्तो गाग्री लिएर घर जाँदा गाली खानु परेको अनुभव सन्तलीले पोखे । 

वर्षोपछि नमूना खानेपानी आयोजना निर्माण हुँदा पूरै गाउँबासीनै उत्साहित छन्  ।

“गाउँमा ठूलो खानेपानी आयोजना बनेको छ । यसबाट महिलालाई बढी राहत हुने आशा छ ।”

सो खानेपानीबाट सरसफाई, सिँचाइसम्म सहज हुने स्थानीयवासी बताउँछन् । बारागाउँमा झण्डै १७२ घरधुरीमा ११ सय जनसङ्ख्या छ ।

गाउँमा बनेको बारागाउँ वृहत्त बहुउपयोगी खानेपानी आयोजनाले सहज बनाएको आयोजना निर्माण समितिका अध्यक्ष देवबहादुर रावतले जानकारी दिए ।  

पेश नेपाल जुम्लाद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजनामार्फत बारागाउँमा नमूना वृहत बहुउपयोगी खानेपानी आयोजना बनेको हो ।

आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले भने, “करिब ६० लाख २५ हजार लगानीमा २८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरिएको छ । करिब ६ किलोमिटर टाढा मुहानबाट खानेपानी लाइन ल्याइएको छ ।”

बारागाउँबासीको आवश्यकतालाई मध्यनजर गरी वृहत्त खानेपानी आयोजना बनाएको पेश नेपाल जुम्लाका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

आयोजनाबाट गाउँमा  १७२ धारा निर्माण हुने भएका छन् । आयोजनाको ९० प्रतिशत काम पेश नेपालको लगानीमा सकिए पनि धारा निर्माण स्थानीयवासीले आफै गरेका छन् । धारा बनाउन मिटर, टुटी सबै उपलब्ध गराइएको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले खानेपानी आयोजना प्रशंसायोग्य र नमूना भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै