• २०८१ बैशाख १३ बिहीबार

गोरखामा बजेट सिद्ध्याउन मात्रै अनुगमन

kharibot

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको प्रेस्किप्सन बिनै औषधीहरू बेचबिखन हुने हुने गर्छ । लाइसेन्स किनेर असम्बन्धित व्यक्तिले फार्मेसी सञ्चालन गरिरहेका छन् । नाफाका लागि कम गुणस्तरका औषधी पनि बिक्री वितरण हुने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

तर, बुधबार घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सूर्य भुजेलको नेतृत्वको टोलीले फितलो अनुगमन र प्रतिवेदन तयार गरेको छ । मन्त्रालयको तर्फबाट घरेलु कार्यालयमा अनुगमन शीर्षकमा छुट्टाइएको बजेट सिद्ध्याउन र भत्ता खानका लागि मात्रै गरिएको अनुगमन फितलो भएको हो । 

‘उहाँहरू आउनु भयो यसो हेरे जस्तो गर्नु भयो । दर्ता छ छैन ? फार्मेसिष्ट को हो ? औषधी बिक्री गरेको नार्पोटिक रेकर्ड फाइल मागेर हेरे जस्तो गर्नु भयो अनि फर्कनु भयो । नाम मात्रैको अनुगमन थियो, डिटेल्समा हेर्ने खालको थिएनन् । मात्रै दुई/पाँच मिनेट अनुगमन गर्‍या जस्तो गरेर फर्कनु भयो’, स्रोत गोप्य राख्ने सर्तमा एक फार्मेसी सञ्चालकले भने । 
सदरमुकामका फार्मेसी तथा मेडिकलहरूमा गहन रूपमा अनुगमन गर्ने हो भने ५० प्रतिशत भन्दा बढी कारबाहीमा पर्ने अवस्था रहेको अर्का फार्मेसी सञ्चालक बताउँछन् ।

स्रोत गोप्य राख्ने सर्तमा उनी भन्छन्, ‘५० प्रतिशत भन्दा बढिले औषधी व्यवस्था विभागका सबै मापदण्डहरू पूरा गरेका छैनन् । अनुगमन राम्रो भए त तिनीहरू सबै कारबाहीमा पर्छन् अथवा सबै मापदण्ड पूरा गरेर चलाउँछन् । तर, सबै अनुगमन आज जस्तै भत्ता पचाउन मात्रै हुने हो अनि कसलाई कारबाही हुने ?’

बुधबार सदरमुकाम आसपासका १४ फार्मेसी र २ वटा हस्पिटलको अनुगमन गरेको उद्योग अधिकृत भुजेल बताउँछन् । अनुगमनको क्रममा सबै फार्मेसी, मेडिकल तथा हस्पिटलहरूले सबै मापदण्ड पुरा गरेको भेटिएको उनको दाबी छ । तर, अनुगमनको क्रममा कुनै पनि समस्या नदेख्नु सूचना लिग भएको हो कि ? भन्ने आशङ्का उनी गर्छन् ।

अनुगमन समितिका संयोजक समेत रहेका उद्योग अधिकृत भुजेलले भने, ‘हामीले अनुगमनमा गर्दा सबै राम्रै देखियो, कुनै समस्या देखिएन । सबैले मापदण्ड अनुसार नै गरेको देखियो । तर, हामी अनुगमनमा जाने सूचना कसैले लिग गर्याे कि ? तर, त्यसो पनि नहुनु पर्ने, हिजो राति १०/१२ बजे म र सहायक सिडिओ सा’बको सल्लाह भएर बिहानै अनुगमन गरेको हो ।’

तर, अनुगमन समितिकै एक सदस्यले भने अनुगमनको खबर मंगलबार साँझ नै थाहा पाइसकेको बताउँछन् । ‘१०\१२ बजे तीर हैन, साँझ सात बजे तीर अनुगमनमा जाने खबर आइसकेको थियो’, अनुगमन समितिका एक सदस्यले भने । प्लानिङकै विषयमा अनुगमन टोलीका संयोजक र सदस्यको कुरा बाझिँदा सूचना लिग भएको भन्ने शंकालाई थप बल पुर्‍याउने देखिन्छ । अनुगमनको क्रममा हस्पिटल आसपासकै केही फार्मेसीहरू पनि बन्द पाइएको अनुगमन समितिका सदस्यहरू बताउँछन् ।

बजेट सक्न मात्रै अनुगमन 

घरेलु कार्यालयका प्रमुख भुजेलका अनुसार चालु आवमा अनुगमन शीर्षकका लागि मन्त्रालयबाट डेढ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

‘डेढ लाख बजेटबाट ६ वटा अनुगमन गर्नुपर्ने थियो । पाँच वटा भइसक्या थियो आजसहित गरेर ६ वटा पुग्यो । अब सबैको भुक्तानी हुन्छ’, उद्योग अधिकृत भुजेलले भने ।  कार्यालयले आज गरेको अनुगमन सँगसँगै सो शीर्षकको बजेट सकिने भएको छ । 

सहायक सिडिओ अनुगमन नसकिँदै लागे ‘क्वाटर तीर’

जिल्ला अनुगमन समितिको संयोजकको रूपमा सहायक प्रमुख जिल्ला अधिकृत रहने कानुनी व्यवस्था छ । तर, बुधबार प्रदेश मन्त्रालय अन्तरगत घरेलु कार्यालयका उद्योग अधिकृतको संयोजकत्वमा फार्मेसी अनुगमन भएको थियो । 

तर, अनुगमनको क्रममा केही कमीकमजोरी भेटिएमा त्यसको नियमन गर्ने र कारबाही गर्ने वा कारबाहीको लागि सिफारिस गर्ने अधिकार सहायक प्रजिअलाई हुन्छ ।  त्यसैले घरेलु कार्यालयले सहायक सिडिओ कमलराज भण्डारीको प्रमुख आतिथ्यतामा अनुगमन सुरु गर्याे । 

बुधबार बिहान साँढे सात बजेदेखि सुरु भएको अनुगमन करिब १० बजेसम्म चलेको पत्रकार महासंघका अध्यक्ष एवं अनुगमन समितिका सदस्य नरहरि सापकोटा बताउँछन् । यद्यपि सहायक सिडिओ भने नौ बजे नै अनुगमन सकिएको भन्दै क्वाटर तीर हिँडेका थिए । भण्डारी पाटेचौर स्थित एपोलो हस्पिटलको अनुगमन गरे लगत्तै अनुगमन सकिएको भन्दै क्वाटर तीर लागेका हुन् । तर, त्यसपछि पनि टिमले नयाँ बजार, बैङ्क रोडका मेडिकल, फार्मेसी हुँदै आमा बा हस्पिटल पुगेर अनुगमन टुङ्गाएको   थियो । 

अनुगमनमा संयोजक उद्योग अधिकृत भुजेल, सहायक प्रजिअ भण्डारी, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार महासंघका अध्यक्ष, जिल्ला अस्पताल गोरखाका मेडिकल अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै