• २०८१ बैशाख ४ मंगलबार

महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने बताएका छन् । 

साफको साधारणसभा २ जुलाईमा बंगलादेशको ढाकामा हुँदै छ । महासचिव राईले साफ आयोजनाका लागि प्रस्ताव राख्ने र मितिसमेत तोक्ने बताए । 

‘अघिल्लो संस्करणसमेत हामीले नै आयोजन गरेका थियौं । यो पटकसमेत साफ नेपालमा आयोजना गर्न प्रस्ताव  गर्ने निर्णय भएको छ । हामी नेपालमै ल्याउन प्रयास गर्नेछौं,’ राईले भने । 

यसअघि साफको पाँचौ संस्करण विराटनगरमा आयोजना भएको थियो । उपाधि भने भारतले जितेको थियो । 

साफको साधारणसभामा सहभागी हुन महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दैछन् । 

६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी निवर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भएसँगै जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फा निर्णय गरेको थियो । 

यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो । 

राईले यस विषयमा समेत बैठकबाट नै निर्णय हुने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै