• २०८१ बैशाख ७ शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्न आयोगको पहल

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विद्युतीय मतदान यन्त्रबाट गराउन पहल थालेको छ ।

आयोगले निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्वन्धी कानूनमा भएको ब्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्‍मा पठाइएको जानकारी दिएको छ ।

आयोगले गृह मन्त्रालयलाई स्वदेशमा उपलब्ध हुने अवस्था नभएमा आवश्यक पर्ने विद्युतीय मतदान यन्त्र अन्य देशमा निर्मित यन्त्र श्रावण मसान्तसम्म उपलब्ध गराइदिन अनुरोध गरेको सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिएका छन् ।

आयोगको विज्ञप्ति

निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्वन्धी कानूनमा भएको ब्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्‍मा पठाइएको छ ।

साथै, आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ ।

विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदनमा अविलम्व विश्वविद्यालयका प्राध्यापकहरु, राष्ट्रसेवक सरकारी कर्मचारी एवम् स्वतन्त्र विज्ञ सम्मिलित प्राविधिक समिति गठन गरी यस समितिको सिफारिशको आधारमा विद्युतीय मतदान मेसिनको स्पेशिफिकेशन, मेसिनको गुणस्तर चेँकजाँच, विश्वसनियता परीक्षण गर्ने तथा मेसिन उपर सार्वजनिक रुपमा उठान हुन सक्ने जिज्ञासाहरुको समाधान, भविष्यमा बृहत्तर रुपमा मुलुकभर यसको प्रयोग गर्दा मेसिनमा गर्नुपर्ने सुधार र विद्युतीय मतदान मेसिनको सफलतापूर्वक कार्यान्वयन भएका मुलुकहरुको अनुभवबाट सिकेर उन्नत एवम् विशिष्ट प्राविधिक क्षमताले युक्त यन्त्रको प्रयोग नेपालको निर्वाचन ब्यवस्थापनमा गर्ने जस्ता विषयहरु समावेश भएका छन् । 

निर्वाचन आयोगले संविधान तथा संघीय कानून बमोजिम हुने राष्ट्रपति, उप राष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानूनी ब्यवस्था रहेको छ । संवत् २०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा विद्युतीय मतदान यन्त्र को  प्रयोग गरेको साथै, २०७१ सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया,  बागलुङ,  काठमाडौं,  कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा विद्युतीय मतदान यन्त्रको सफलतापूर्वक प्रयोग गरिएको थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै