• २०८१ बैशाख ८ शनिबार

जितको खोजीमा नेपाल, यसरी पुग्नसक्छ सुपर सिक्समा

kharibot

काठमाडौँ । जिम्बाबेमा जारी आइसीसी विश्वकप छनौट खेलिरहेको नेपालले प्रतियोगितामा खराब सुरुवात गरेको छ ।

डिभिजन २ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनौट खेल्न जिम्बाबे पुगेको नेपाली टिम आयोजक जिम्बाबे र स्कटल्याण्डसँग पराजित भएर अहिले विश्वकप छनौटको सुपर सिक्समा नपुग्ने होकी भन्ने आशंका बढाएको छ । नेपालले प्रतियोगितामा अब अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । 

डिभिजन २ को फाइनलमा युएईसँग पराजित भएपछि नेपालको हारको शिलशिला जारी छ । अभ्यास खेलमा युएईलाई पराजित गरेपनि नेपालले विजयी लय गुमाएको छ । नेपालका पछिल्ला खेल हेर्दा सबै कुरा कप्तान पारस खड्कामा निर्भर रहेको देखिएको छ । पारसले रन पनि बनाउनु पर्ने र विकेट पनि लिनुपर्ने अवस्थामा उनि चम्किदा नेपालले जित्ने र अलिकति फर्ममा नहुदा नेपालले हार्ने स्थिति देखा परेको छ ।

जिम्बाबेसँग सुरुको १० ओभरमा नेपाली बलिङ सम्हालिन नसक्दा ३८० को विशाल लक्ष्यको सामना गर्नु पर्यो भने स्कटल्याण्डसँग पनि सुरुको १० ओभरमा ब्याट्सम्यान सम्हालिन नसक्दा १४ रनमा प्रमुख खेलाडी गुमाएर नेपाल सुरुमै दबाबमा आयो । 

स्कटल्याण्डविरुद्ध ब्याटिंग गर्ने निर्णय 

स्कटल्याण्डविरुद्ध कप्तान पारस खड्काले टस जितेर ब्याटिंग गर्ने निर्णय गरे । उनको यो निर्णय सकरात्मक नै थियो । दुबईमा खेलिएका अभ्यास खेल, युएईसँगको अभ्यास खेल र जिम्बाबेसँग ३८० चेज गर्दाको नेपालको ब्याटिंग सकारात्मक र सुध्रिएको हो की भन्ने देखिएको थियो ।

युएईसँग २९ ओभरमा १७२ रन चेज गरेको नेपालले जिम्बाबेसँग ३८० चेज गर्दा बनाएको २६४ रन हेर्दा नेपालको ब्याटिंगमा सुधार आएको जस्तो देखिएको थियो । सायद कप्तान पारस र टिम व्यवस्थापनको पनि यहि आकलनले नै टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको हुनुपर्छ । 

जुन सबैको अनुमान भन्दा विपरित भयो । नेपालको शिर्ष ब्याटिंग लाइनअप कोल्याप्स भयो र फेरी सोमपाल, सन्दीपबाट रनको आशा गर्नु पर्ने स्थिती सिर्जना भयो । डिभिजन २ र अभ्यास खेलको विश्लेषण गर्दा नेपालले रन चेज गर्दा राम्रो ब्याटिंग गरेको देखिएको छ । शायद कप्तान पारसले यसलाई मध्यनजर गर्दै पहिला बलिङ गर्ने निर्णय गरेको भए नतिजा फरक हुनसक्थ्यो की ? जे होस् अब यस्तो विश्लेषणको खासै औचित्य छैन तैपनि भविष्यमा निर्णय गर्दा सजक भने अवश्य बनाउछ ।

अब के होला ?

नेपालले शनिबार अफगानिस्तानको सामना गर्दै छ ।  अफगानिस्तानले प्रतियोगितामा तीन खेलमा हार बेहोरी सकेको छ । नेपालसँग पराजित भए अफगानिस्तान छनोट चरणबाट बाहिरिनेछ । तर, नेपाललाई पराजित गरे अफगानिस्तानको झिनो आशा बाँकी रहने देखिन्छ । तर त्यसका लागि अफगानिस्तानले नेपाललाई फराकिलो अन्तरमा हराउँनुपर्छ र हङकङ दुबै खेलमा पराजित हुनु पर्छ ।

नेपालले दुई खेलमा हार बेहोरेपनि सुपर सिक्समा पुग्ने सम्भावना अझै जिवितै छ । नेपालले अब अफगानिस्तान र हङकङसँगका दुबै खेल जित्नु पर्दछ । त्यसो भएमा अफगानिस्तान प्रतियोगिताबाट सिधै बाहिरिन्छ भने हङकङको अर्को खेल जिम्बाबेसँग रहेको छ । तुलनात्मक रुपमा जिम्बाबे बलियो देखिए पनि हङकङ जिम्बाबेसँग पराजित भएको अवस्थामा नेपाल सजिलै सुपर सिक्समा पुग्न सक्छ तर जिम्बाबेलाई पराजित गरेको अवस्थामा भने नेपालले अफगानिस्तान र हङकङ दुवैलाई फराकिलो रन अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।

यसरी हेर्दा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना देखिन्छ तर यस अघि नेपालले आफ्नो टिममा केहि सुधार गर्नु पर्ने भने अवश्य देखिन्छ ।

वरिष्ठ खेलाडीहरुको खराब प्रदर्शन :

जिम्बाबेमा अहिले खेलिएका मैदान स्पिन सहयोगी देखिए पनि नेपाली स्पिनरले विपक्षी टिमलाई अल आउट गर्न सकिरहेका छैनन् । डिभिजन २ मा प्रभावशाली देखिएका करण केसी टिम बाहिर रहेका छन् । यस्तो अवस्थामा कप्तान पारसले टिममा सहि खेलाडीको छनौट गर्नु आवश्यक देखिएको छ । लगातार अफसल भएका ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल टिममा बनिरहनु अब प्रश्न उठ्न थालेको छ भने टिमका अन्य वरिष्ठ खेलाडीहरुले निर्णायक अवस्थामा प्रदर्शन नगर्दा सिंगो टीमले हार बेहोरी रहेको छ ।    


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै