• २०८१ बैशाख ७ शुक्रबार

जी-२० देशको बैठक जम्मु कश्मीरमा हुने बारे चीन र पाकिस्तानको आपत्ति

kharibot

काठमाडौँ । अर्को वर्ष जम्मु कश्मीरमा जी-२० देशका नेताहरूको बैठक गर्ने भारतको योजना सार्बजनिक भएपछि पाकिस्तान र चीनले आपत्ति जनाएका छन् । चीनले यस मुद्दालाई राजनीतिक रंग नदिन सरोकारवाला पक्षहरूलाई अलग बस्न चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफमा भने, 'कश्मीरमा चीनको अडान स्थिर र स्पष्ट छ । यो भारत र पाकिस्तानबीच पहिलेदेखि नै चलिरहेको मुद्दा हो । संयुक्त राष्ट्र संघले यसको उचित समाधान खोज्नुपर्छ । सम्बन्धित पक्षहरूले एकतर्फी कदम चालेर परिस्थितिलाई जटिल बनाउनबाट जोगिनु पर्छ । हामीले वार्ता र संवादबाट विवादहरू समाधान गर्नुपर्छ र मिलेर शान्ति र स्थिरता स्थापना गर्नुपर्छ भनेका छौं ।'

उनले भने- ' जी-२० अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो । हामी सम्बन्धित पक्षहरूलाई आर्थिक पुनरुत्थानमा ध्यान दिन र यस सान्दर्भिक मुद्दालाई राजनीतिकरण नगर्न र विश्वव्यापी आर्थिक सुशासन सुधार गर्न सकारात्मक कदम चाल्न आह्वान गर्दछौं ।'

चीन जी-२० समूहको सदस्यको रूपमा बैठकमा भाग लिन्छ कि छैन भन्ने प्रश्नको जवाफमा झाओले भने- 'हामी बैठकमा भाग लिने वा नदिने भनेर विचार गर्नेछौं ।'

यस अघि पाकिस्तानले पनि जी-२० को बैठक जम्मु कश्मिरमा हुने विषयमा आपत्ति जनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै