• २०८१ बैशाख ७ शुक्रबार

तनहुँका कृषकलाई प्रविधि हस्तान्तरण गर्दै स्थानीय तह

kharibot

दमौली । तनहुँका स्थानीय तहले कृषकलाई कृषि उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्न थालेका छन् ।

परम्परागतरूपमा खेती गर्दै आएका कृषकलाई यान्त्रिकरणमार्फत व्यावसायिक बनाउन स्थानीय तहले कृषि उपकरणमा जोड दिएका हुन् ।

आँबुखैरेनी गाउँपालिकाले कृषकलाई कृषि उपकरण प्रदान गरेको छ । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई उपकरण सहयोग गरेको हो ।

गाउँपालिकाको स्वीकृत कार्यक्रमबमोजिम कृषि सहकारी, कृषक समूह तथा कृषि फार्मलाई डिजिटल काटा र मिनीटिलर सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले १५ वटा डिजिटल काटा र आठवटा मिनीटिलर (हाते ट्र्याक्टर) वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषिमा व्यावसायीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने बताए ।

“कृषकलाई प्रविधि दिएर कृषिमा आधुनिकीकरण गर्ने सोच राखेका छौँ”, उनले भने । भानु नगरपालिकाले पनि कृषक समूहलाई हाते ट्र्याक्टर  र कम्वाइन मिल वितरण गरेको छ । उक्त नगरपालिका–४ चुँदीस्थित खुमलटारी बडहरे कृषक समूहलाई सात टान हाते ट्र्याक्टर वितरण गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । कृषकको मागका आधारमा सामग्री वितरण गरिएको उनले बताए ।

“यान्त्रिकरणमार्फत कृषकलाई व्यावसायिक बनाउन विभिन्न सामग्री प्रदान गरेका हौँ, यसले कृषक खुसी भएका छन्”, नगरप्रमुख त्रिपाठीले भने ।

परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेकाले लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिइएको उनले भने ।

यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई गण्डकी प्रदेश सरकारले अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको छ ।

प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समूहलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको हो ।

चक्लाबन्दी गर्ने कृषक समूहलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ७५ प्रतिशत अनुदानमा ट्र्याक्टर  वितरण गरेको छ ।

ट्र्याक्टर का लागि कृषक समूहले २५ प्रतिशत लागत साझेदारी गरेका छन् ।

बन्दीपुर गाउँपालिकाका पूर्वअध्यक्ष पूर्णसिं थापाले गत वर्षदेखि चक्लाबन्दी थालेको कृषि समूहलाई गाउँपालिकाका तर्फबाट पनि कृषि औजार सहयोग हुँदै आएको बताए । समूहले १६४ रोपनी क्षेत्रफलमा चक्लाबन्दीमार्फत खेती गर्दै आएको छ ।

चौविस कृषकको खेतलाई एउटै बनाई चक्लाबन्दी गरिएको समूहकी अध्यक्ष श्रेष्ठले जानकारी दिए । “पहिला–पहिला आ–आफ्नै जग्गामा खेतीपाती गर्दै आएका थियौँ, सरकारले चक्लाबन्दीको अवधारणा ल्याएपछि सबै जग्गालाई एउटै बनाई खेती गर्दै आएका छौँ”,उनले भने, “यसले गर्दा खेतीपाती गर्न पनि सहज हुने र उत्पादन पनि वृद्धि हुने गरेको छ ।”

बन्दीपुरमा एक हजार ५०० रोपनीमा चक्लाबन्दीमार्फत खेती भइरहेको छ । गाउँपालिकाले गत वर्ष ३०० साना ट्र्याक्टर  अनुदानमा कृषकलाई वितरण गरेको थियो ।

जिल्लाकै म्याग्दे गाउँपालिकाले पनि केही समय अगाडि कृषकलाई हाते ट्र्याक्टर र सिँचाइ गर्नका लागि पानी तान्ने मोटर हस्तान्तरण गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार ४६ थान हाते ट्र्याक्टर  र १३ थान पानी तान्ने मोटर वितरण गरिएको छ ।

३२ लाख २० हजार मूल्य बराबरका कृषि सामग्री अनुदानमा वितरण गरिएको उनले बताए ।

निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले प्रविधिसँगै सीप पनि प्रदान गर्न थालेको छ ।

गाउँपालिकाले यसअगाडी हाते ट्र्याक्टर वितरण गरेका कृषकलाई मर्मतको तालिमसमेत दिइसकेको अधिकृत अधिकारीले बताए ।

जिल्लाका अन्य स्थानीय तहले पनि कृषकलाई कृषि उपकरण सहयोग गर्दै आइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै