• २०८१ बैशाख ७ शुक्रबार

के रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्न लागेका हुन् ?

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्ने अनुमति दिन क्लबलाई अनुरोध गरेको खबर बाहिरिएको छ । बेलायति मिडिया आउटलेट द टाइम्सका अनुसार ३७ बर्षिय रोनाल्डोले राम्रो अफर आएमा आफुले युनाइटेड छोड्ने अनुमति दिन अनुरोध गरेको उल्लेख छ ।

म्यानचेस्टर युनाइटेडप्रति रोनाल्डोको झुकाव भएपनि रोनाल्डो च्याम्पियन्स लिग खेल्न युनाइटेड छोड्न खोजेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रोनाल्डो प्रिमियर लिग क्लब चेल्सी जानसक्ने बताइएको छ । चेल्सीका नयाँ अमेरिकी मालिक टोड बोएलीले जुन महिनामा रोनाल्डोका एजेन्टलाई भेटेर सम्भावित ट्रान्सफरको बारेमा छलफल गरेको उल्लेख गरिएको छ ।

तर अहिलेसम्म चेल्सीले रोनाल्डोका लागि अफर गरेको स्पष्ट भने भइसकेको छैन । युनाइटेडले नयाँ खेलाडी भित्र्याउन चासो नदिएको बारे रोनाल्डो असन्तुष्ट रहेको भने रिपोर्टहरु बाहिर आएको थियो ।

मिडिया रिपोर्टमा रोनाल्डोको लागि राम्रो अफर आएमा भने युनाइटेड उनलाई बेच्न तयार रहेको बताइएको छ ।

रोनाल्डोले आफ्नो क्यारियरमा अब २-३ बर्षको खेल बाँकी रहेको र सो समयमा च्याम्पियन्स लिग खेल्ने चाहाना राखेका कारण उनले युनाइटेड छोड्ने खोजेको बताइएको छ । रोनाल्डोले पछिल्लो १९ बर्षदेखि च्याम्पियन्स लिग खेलिरहेका छन् ।

त्यस्तै चेल्सीका नयाँ मालिकले पनि सुपरस्टार खेलाडीलाई भित्र्याएर क्लबमा एउटा स्टेटमेन्ट दिन चाहेको कारण रोनाल्डोप्रति चासो देखाएको उल्लेख गरिएको छ । चेल्सीको नयाँ व्यवस्थापन क्लबले ट्रफी जित्नुको साथै कमर्सियल र ब्राण्ड पावर पनि बलियो बनाउने अभियानमा लागेकाले रोनाल्डोलाई भित्र्याउने लक्ष्य बनाएको बताइएको छ । 

उता चेल्सीले म्यानचेस्टर सिटीबाट रहिम स्टरलिङलाई भित्र्याउने निश्चित भइसकेको छ । त्यस्तै चेल्सीले नेइमारलाई समेत भित्र्याउने विषयमा चर्चा चलिरहेका बेला रोनाल्डोको विषय बाहिर आएपछि फुटबल जगत तरंगित भएको छ ।

चेल्सी बाहेक रोबोर्ट लेवानडोस्कीले छोड्ने भएपछि बायर्न म्युनिखले पनि रोनाल्डोलाई भित्र्याउने इच्छा देखाएको बताइएको छ । 

गत बर्ष युभेन्टसबाट युनाइटेड आएका रोनाल्डोले सबै खेलमा युनाइटेडका लागि २४ गोल गरेका छन्, जसमा प्रिमियर लिगमा १८ गोल गरेका थिए । तर युनाइटेड प्रिमियर लिगमा छैटौं स्थानमा रहदै युरोपा लिगमा छनौट भयो ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै