• २०८१ बैशाख ८ शनिबार

ढल्केबरमा ट्रमा सेन्टर स्थापनाको काम सुरु

kharibot

महोत्तरी । पूर्वपश्चिम राजमार्गको ढल्केबरमा ट्रमा सेन्टर स्थापनाको काम अघिबढेपछि यस क्षेत्रमा उत्साह बढेको छ ।

मधेस प्रदेशको लगभग मध्यभेगमा पर्ने ढल्केबरमा ट्रमा सेन्टर स्थापनाको काम बढेपछि महोत्तरी र धनुषासहित आसपासका जिल्लावासीलाई नजिकमै उपचार पाइने आश जागेको हो ।

“अब त्यही बडहरी खोलापारीको ढल्केबरमा ट्रमा सेन्टर बन्ने भएछ”, बर्दिबास नगरपालिका–७ चौलिखाका जगन्नाथ महतो भन्छन्, “अब भैपरी आउने उपचारका लागि टाढा जानु पर्दैन ।” ट्रमा सेन्टर प्रस्ताव गरिएको ठाउँ धनुषा जिल्लाको मिथिला नगरपालिका–७ मा पर्ने भए पनि महोत्तरी र सिन्धुली यससँग सीमा जोडिएका जिल्ला हुन् । महोत्तरीको बर्दिबास र भङ्गाहा नगरपालिका ढल्केबर नजिक छन् । 

त्यसैगरी सिन्धुलीका कमलामाई र दूधौली नगरपालिकासँग मिथिला नगरपालिकाको सीमा जोडिएको छ । ढल्केबरमा बन्ने ट्रमा सेन्टरबाट धनुषा, महोत्तरी र सिन्धुलीवासीले सजिलै सेवा लिन सक्छन् । प्रदेशकै मध्य भागजस्तो पर्ने हुँदा सिरहा, सर्लाही र अन्य जिल्लाका बासिन्दालाई  ढल्केबरमा बन्ने ट्रमा सेन्टर उपचारका लागि सहज गन्तव्य बन्ने मिथिला–१ का सोम शर्मा बताउछन् ।  

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रारम्भिक प्रक्रिया थालिएसँगै यस भेगमा एउटा महत्वपूर्ण आयोजनाको काम  सुरु भएको सर्वसाधारणले अनुभूति गरेका छन् ।

“हामीलाई लाग्छ, यो मधेस प्रदेशकै एउटा खास उपलब्धि हुनेछ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्छन्, “जनताको स्वास्थ्यसँग जोडिएको यो परियोजना निर्माणको कुरा ‘दन्त्यकथा’ चै नबनोस् ।”

ट्रमा सेन्टरको प्रस्तावित जग्गामा अहिले प्रारम्भिक चरणको माटो परीक्षणको काम भएको छ । “हामीले प्रस्तावित ठाउँको माटो परीक्षण गरेका छौँ, अब यसको प्रतिवेदनका आधारमा थप काम अघि बढ्ने हो”, धनुषास्थित सङ्घीय आयोजना कार्यान्वयन इकाइका सवइञ्जिनीयर सुनिल ठाकुर भन्छन्।
    
मिथिला नगरपालिका–७ (साविकको ढल्केवर गाविस वडा नं २ ‘क’ को कित्ता नं १६९) मा पर्ने चार बिघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर सङ्घीय सरकारले आव २०७८/७९ को बजेटमा ट्रमा सेन्टर निर्माण शीर्षकमा रकम विनियोजन गरेको छ ।

यसअघि आव २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ढल्केबरमा ट्रमा सेन्टर स्थापनाको अवधारणा ल्याएपछि औपचारिकरुपमा यसले सङ्घीय सरकारको बजेटमा ठाउँ पाएको हो ।

यसअघि ट्रमा सेन्टर निर्माण गरिने ठाउँको जग्गा विवादले अलपत्र बनेको यो परियोजनाबारे गत चैतमा तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेर ठाउँ उपयुक्त रहेको बताएपछि विवाद साम्य भएको थियो ।

उनले मन्त्रालयका सचिवसहितको टोलीका साथ गत चैतमा प्रस्तावित जग्गा अवलोकन गरेकी थिइन् । त्यतिखेरै मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले प्रस्तावित जग्गामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढ्ने विश्वास दिलाएका थिए ।

अब ट्रमा सेन्टर निर्माणको कामले प्रक्रिया थालेपछि चाँडै गति लिने मिथिलाका नगरप्रमुख महेन्द्र महतोको विश्वास छ ।

ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि स्थानीय सामाजिक सङ्घ संस्थाले संयुक्त पहल गर्दै आएका छन् । ढल्केबर पूर्वपश्चिम राजमार्ग र मधेस प्रदेशको राजधानी जनकपुरधामलाई जोड्ने केन्द्र भएको हुँदा यस ठाउँमा ट्रमा सेन्टर निर्माणको कामले गति लिनासाथ अन्य थप सम्भावना बढ्दै जाने उक्त नगरपालिकाकी पूर्वउपप्रमुख ताराकुमारी बस्नेत लामाको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै