• २०८१ बैशाख ५ बुधबार

प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन् ।

कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको सो अर्धकदको शालिकको आज बिहान प्रधानमन्त्री देउवाले अनावरण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरिजाबाबु कहिल्यै नथाक्ने नेता मात्र होइन मिलनसार पनि थिए भने ।

“कठिन राजनीतिक आरोह, अवरोह पार गरेका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका छन्, उनि युगपुरुष र शिखरपुरुष छन्”, सभापति देउवाले भने ।

प्रधानमन्त्री देउवाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गरेको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए ।

उनले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको स्मरण गरे ।
     
“गिरिजाबाबुले अगाडि सार्नुरेको सहमति, सहकार्य, एकता आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ”, उनले भने ।

म जे बोल्छु, त्यही गर्छु भन्ने गिरिजाबाबुको अडान भएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।  

कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले  संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको बताए । कांग्रेस नेत्री सुजाता कोइरालाले श्रमिकको दुःख बुझ्ने नेता गिरिजाबाबु भएको बताए ।

नेत्री कोइरालाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गरेका विराटनगरस्थित जुटमिलभित्रका ऐतिहासिक सामग्रीलाई सङ्ग्राहलय स्थापना गरी संरक्षण गर्नुपर्नेमा जोड दिए । 

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदूरको हक, अधिकार रक्षाका लागि नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री गिरिजाबाबुको शालिक अनावरण गर्न पाएकोमा खुसी व्यक्त गरे  ।

विसं २०४७ मा स्थापना भएको ट्रेड युनियन कांग्रेसमा हाल २७ सङ्घ आवद्ध रहेको ट्रेड युनियनका उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए ।

ट्रेड युनियन कांग्रेसमा हाल चार लाख श्रमिक आवद्ध छन् । आज अनावरण गरिएको अर्धकदको शालिक पाटन औद्योगिक क्षेत्रका कलाकार धर्म शाक्यले निर्माण गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै