• २०८१ बैशाख ८ शनिबार

सप्तरीमा छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

kharibot

सप्तरी । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ ।

जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई तीन महिना कैद र १० हजार रुपियाँ जरिवानाको सजाय तोकेको हो ।

चौध वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै अदालतले २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए । अर्का आरोपित शिक्षक सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादवले सफाइ पाएका छन् ।

आरोपितहरूले २०७५ चैतदेखि यौन दुर्व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा २०७५ जेठ २६ गते उजुरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय कडरबोनाले २०७५ जेठ २७ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरी पशुपतिलाई पक्राउ गरेको थियो ।

सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित पशुपति २०७५ असार २२ गते पूर्पक्षका लागि ६५ हजार रुपियाँ धरौटी राखी पूर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अदालतमा २०७६ जेठ २४ गते हाजिर भएका अर्का आरोपित रामकृष्ण पनि ६५ हजार रुपियाँ धरौटी राखी पूर्पक्षका लागि तारेखमा रिहा भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै