• २०८१ बैशाख १३ बिहीबार

बागलुङमा मृतकका परिवारलाई प्रवासीले पठाए २० लाख

kharibot

बागलुङ । दुई साताअघि सडक दुर्घटनामा परी ज्यान गुमाएका गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापान र लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत रकम पठाएका छन् ।

घुम्टे युवा परिवार जापान शाखाको पहलमा सङ्कलित १८ लाख ८५ हजार र लक्जम्बर्गमा रहेका आफन्तजनबाट प्राप्त रु दुई लाख थापाको तेह्राँै दिनको पुण्यतिथिमा परिवारजनलाई हस्तान्तरण गरिएको हो ।

सो राहत रकम वडाध्यक्ष राज थापा र घुयुप जापान शाखाका सचिव तुलवीर थापाले विनोदका बुबा द्रोणबहादुरलाई प्रदान गरेका थिए ।

छोराको वियोगसँगै परिवार आर्थिक समस्यामा जेलिएपछि राहत अभियान चलाइएको सचिव थापाले बताए ।

“एक सातामै स्वतःस्फूर्त रूपमा रकम सङ्कलन भयो, अभियानमा जापानमा रहेका गलकोटे धेरैजोडिएका छन्”, उनले भने, “दिवङ्गत विनोद थापाका बैनीहरुको पढाइ र परिवारको जीविकाका लागि केही सहयोग पुगोस् भनेर राहत प्रदान गरेका हौँ ।”

राहत अभियानमा शाखाका उपाध्यक्ष दुर्गा थापा, युवा संयोजक प्रकाश केसी र सल्लाहकार कुलवीर थापा विशेषरूपमा खटेका थिए ।

वडाध्यक्ष थापाले गाउँछिमेकमा विपद् पर्दा प्रवासमा रहेका नेपालीहरुले गर्ने सहयोग अतुलनीय रहने बताए ।

उनले घुम्टे युवा परिवारका देशभित्र र बाहिर रहेका शाखाले सामाजिक तथा मानवीय सेवामा पुर्याएको योगदानको प्रशंसा गरे ।

गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपका अध्यक्ष थम्मन थापाले जापान शाखामार्फत गलकोटमा ठूलो सहयोग भित्रिएको बताए ।

गाउँको गाह्रोसाह्रोमा आर्थिक सहयोगदेखि सामाजिक विकासका काममा घुयुपले हातेमालो गर्दै आएको उनको भनाइ छ ।

चितवनमा मोटरसाइकलमा सवार रहेका बेला विद्यालय बसको ठक्करबाट विनोदको निधन भएको थियो ।

भिसा लागेर जापान जाने तयारीमा रहनुभएका थापाले अल्पायुमै ज्यान गुमाउनुपरेको थियो । उनका बुबाआमा र तीन बैनी हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै