• २०८१ बैशाख १३ बिहीबार

आज भानुजयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै

kharibot

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको  रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका थिए ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए । उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ भानुभक्तको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । 

भानुभक्त भन्दाअघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् ।

रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँयुग निर्माण गरेको छ । उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै