• २०८१ बैशाख ११ मंगलबार

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई बैंकबीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंककातर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् ।

नेपालको वित्तिय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्रबैंकले अगाडि सारेको मर्जर-एकयुजिशन नीतिको अनुसरण गर्दै दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हिमालयन बैंक तथा सिभिल बैंक दुवै नेपालको बैंकिङ्ग क्षेत्रका अग्रणी बैंकहरु हुन् । देशको  बैकिङ्ग इतिहासमा चौथो संयुक्त लगानीको रुपमा २०४९ साल माघ ५ गते स्थापना भएको हिमालयन बैंक लिमिटेड एक सवल एवं सक्षम सस्थाको रुपमा सबैका सामु सुपरिचित छ । यसै गरी करिब १२ वर्ष अगाडि स्थापना भएको सिभिल बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पुर्याएको योगदान पनि त्यत्तिकै प्रशंसनीय छ ।  हिमालयन बैंकले सिभिल बैकलाई  प्राप्ति गरे पश्चात नेपालको वित्तिय क्षेत्रमा थप उर्जा प्रदान हुने देखिन्छ ।

प्राप्ति पछिको बैकको नाम हिमालयन बैंक लिमिटेड नै रहने छ भने संचालक समिति हिमालयन बैंक कै रहने र संचालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ रहेका छन् । यसै गरी प्रमुख कार्यकारी अधिकृतमा अशोकशम्सेर राणा रहने छन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने कार्यका लागि १००: ८१ शेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको छ । हाल हिमालयन बैंकको चुक्ता पुंजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुंजी ९ अर्ब ७ करोड रहेको छ । त्यसै गरी जगेडा कोषमा हिमालयन बैंकको रु ८ अर्ब ३ करोड  र  सिभिल बैंक लिमिटेडको रु २ अर्ब ९१ करोड रहेको छ ।

कर्जा लगानी तर्फ  हिमालयन बैंकको रु १ खर्ब ५८ अर्ब तथा सिभिल बैंकको रु ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेप तर्फ  हिमालयन   बैंकको रु १ खर्ब ७२ अर्ब तथा सिभिल बैंकको रु ९३ अर्ब ३३ करोड रहेको छ । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल शाखा संख्या १८९ पुग्ने छन् । यस कदमले सस्थाको पुंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा उल्लेख्य प्रगति हुनेछ । साथै मुलुकको सवल एवं सक्षम बैंकको रुपमा यस सस्था वित्तिय बजारमा स्थापित हुने, ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्ने र लगानी कर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुनेछ ।

समारोहमा दुवै बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रतापजङ्ग पाण्डले हाम्रो यस रुपान्तरण प्रयासमा हौसला दिने तथा सहयोग पुर्याउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका संचालक समिति तथा वरिष्ठ अधिकारीहरु लगायत सबै सुभेच्छुकहरु  प्रति आभार व्यक्त गरे । यसै गरी हिमालयन बैंकका प्रमुख सल्लाहकार हिमालय शम्सेर राणाले मर्जर-एकयुजिशन कार्य आफैमा चुनौतीपुर्ण भएको बताउँदै त्यसमा बैंकले सफलता प्राप्त गरेरै छाड्ने र संस्थालाई नेपालको बैकिङ्ग क्षेत्रमा उत्कृष्ठ बनाउने प्रण गरे ।

कार्यक्रममा दुवै बैंकका संचालक समिति, मर्जर समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै