चरीकोट । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा भानु–विद्यापति साहित्यिक पुरस्कार–२०७९ बाट दोलखाका कवि मानबहादुर खड्का पुरस्कृत भएका छन् ।
भानु–विद्यापति साहित्य प्रतिष्ठान दोलखाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा चरीकोटमा आयोजना गरेको एक कार्यक्रममा कवि खड्कालाई पुरस्कृत गरिएको हो ।
निजामती सेवामा आवद्ध भए पनि लामो समयदेखि दोलखामा बसी जिल्लाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रतिष्ठानले कवि खड्कालाई नगद रु ११ हजार १११ सहित पुरस्कृत गरेको हो ।
कवि खड्कालाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी र भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए ।
भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत उपसचिवस्तरका निजामती कर्मचारी कवि खड्का कविता लेखनमा अब्बल मानिन्छन ।
कवि खड्काले विभिन्न कविता सङ्ग्रह प्रकाशित गरी सकेका छन् ।
कार्यक्रममा दोलखा साहित्यक यात्रा भाग–३ साहित्यिक पुस्तकसमेत विमोचना गरिएको छ । दोलखाका विभिन्न क्षेत्रलाई समेटेर गीत, कविता, मुक्तक, कथालाई समेटेर प्रकाशन गरिएको साहित्यिक पुस्तक दोलखा साहित्यिक यात्रा भाग–३ विमोचन गरिएको हो ।
आदिकवि भानुभक्तको जन्मजयन्तीकै अवसरमा भानु–विद्यापति साहित्य प्रतिष्ठानले रामायण वाचन प्रतियोगिताको समेत आयोजना गरेको छ ।
रामायण वाचन बालबालिका र वयस्क तथा ज्येष्ठ नागरिकबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।
रामायण वाचन प्रतियोगितामा बालबालिकातर्फ बुढा भीमसेन मावि धरमघरकी छात्रा ज्योत्सना विकको समूह प्रथम, कुटीडाँडा मावि मकैबारीका छात्रा सोनी खड्काको समूह दोस्रो, बुढा भीमसेन माविकै छात्रा सुधिका विकको समूह तेस्रो र कुटीडाँडा माविका छात्रा जिज्ञासा सुवेदीको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
कार्यक्रममा बैतेश्वर गाउँपालिका नाम्दुका ८९ वर्षीय गौरीकान्त ढुङ्गेल, भीमेश्वर नगरपालिका बोचका ८२ वर्षीय गङ्गाधर रेग्मी र ६४ वर्षीया रामकेशरी चर्मकारलगायतले रामायण वाचन गरेका थिए ।