• २०८१ बैशाख ७ शुक्रबार

भरतपुर महानगरपालिकाद्वारा छात्रवृत्ति वितरण

kharibot

चितवन । भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा  अपाङ्ग, लोपोन्मुख, अतिसिमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

प्राविधिक शिक्षातर्फ ती तहमा अध्ययन गर्दै गरेका ५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने महानगरको कार्यक्रम रहेको भए पनि पहिलो वर्ष आठ जनाले मात्रै छात्रवृत्तिका लागि आवेदन दिएका थिए ।

छात्रवृत्ति प्रदान गर्दै महानगर प्रमुख रेनु दाहालले शिक्षाको पहुँचबाट कोही वञ्चित बन्नु नपरोस् भन्ने उद्देश्यका साथ महानगर लागेको बताइन् ।

उनले भनिन्, “पढाइमा प्रोत्साहन दिने उद्देश्यले छात्रवृत्ति प्रदान गरेका हौँ ।” विद्यार्थीले प्राविधिक शिक्षा उत्तीर्ण गर्दासम्म हरेक वर्ष यो छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिइन् ।

महानगरपालिकाले लोपोन्मुख र सीमान्तकृत समुदायका ६९२ विद्यार्थीलाई वार्षिक रु तीन हजारका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरभित्र रहेका संस्थागत विद्यालयमा अध्ययनरत २३९ विद्यार्थीले पूर्ण छात्रवृत्ति प्रदान गरेर कक्षा ११ र १२ मा अध्ययन गर्दै आएको जानकारी दिए । महानगरलाई शिक्षाको केन्द्र बनाउने उद्देश्यले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी दिए  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै