• २०८१ बैशाख १३ बिहीबार

इटालीमा पनि पुग्यो राजनीतिक अस्थिरता

kharibot

काठमाडौँ । इटालीका प्रधानमन्त्री मारियो द्राघी युरोपमा बढ्दो राजनीतिक अस्थिरताको नयाँ सिकार बनेका छन् ।

प्राकृतिक ग्यासको अभाव र रेकर्ड मुद्रास्फीतिका कारण युरोपेली देशहरूमा हालै राजनीतिक अनिश्चितता बढेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र इस्टोनियाका प्रधानमन्त्री केजा कालासले हालै राजीनामा दिनुपरेको थियो । त्यसअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टीले संसदीय बहुमत ल्याउन असफल भएको थियो ।

मारियो ड्राघीले बिहीबार राति राजीनामाको घोषणा गरेका हुन् । ७४ वर्षीय ड्राघी बैंकर हुन् । उनलाई सन् २००८ को आर्थिक संकटको बेला युरो मुद्रा बचाउने श्रेय दिइन्छ । युरोपेली संघ भित्रको तेस्रो ठूलो अर्थतन्त्र इटालीमा आर्थिक स्थिरता ल्याउने श्रेय पनि उनलाई दिइएको छ। तर युक्रेन युद्धले सिर्जना गरेको ऊर्जा संकटका बीच ड्राघी नेतृत्वको गठबन्धन टुटेको छ ।

ड्राघीको राजीनामा घोषणा गरेको केही घण्टाभित्रै इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाले राजीनामा स्वीकृत नगर्ने बताएका छन् । तर पर्यवेक्षकहरू भन्छन्, यसले इटालीको राजनीतिक संकट समाधान हुने ग्यारेन्टी छैन । ड्राघी नेतृत्वको गठबन्धनबाट फाइभ स्टार पार्टी अलग भएको छ । यसले ड्राघीको आर्थिक सुधार कार्यक्रमलाई समर्थन गर्न अस्वीकार गरेको छ। सत्तारुढ गठबन्धनमा फाइभ स्टार सबैभन्दा ठूलो दल थियो ।

 पोलिटिको डट इयू वेबसाइटको प्रतिवेदनअनुसार अहिले ड्राघीको सरकार कुनै न कुनै रूपमा बाँचे पनि यसले स्थिर शासन दिन नसक्ने बताएको छ । बरु आगामी दिनमा सत्ता संघर्ष चर्किने छ । इटालीमा अर्को वर्ष आम निर्वाचन हुँदैछ ।

त्यसैले सत्तारुढ गठबन्धनमा सामेल दलहरू आम जनतालाई भार थप्ने खालका सुधारका पक्षमा उभिएको देख्न चाहँदैनन् ।

ड्राघीको राजीनामाको खबरले वित्तीय बजारमा स्पष्ट प्रभाव पारेको छ । आर्थिक संकटको यो घडीमा बढ्दो राजनीतिक अस्थिरताले अवस्था थप बिग्रन सक्ने अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् । युरोपेली संघको मुद्रा यूरो विगत तीन महिनायताकै न्यून विन्दुमा झरेको छ । जसका कारण युरोजोनमा आउने देशहरुमा चिन्ता बढेको छ ।

विश्लेषकहरूले इटालीको अवस्था बिग्रिएमा त्यसको प्रभाव युरोपभर पर्ने बताएका छन् । इटालीको डेमोक्र्याटिक पार्टीका सांसद स्टेफानो सिकान्टीले पोलिटिको वेबसाइटलाई भने– ‘जर्मन चान्सलर ओलोफ स्कोल्ज केही महिनाअघि मात्रै सत्तामा आएका थिए । संसदीय निर्वाचनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन कमजोर भएका छन् । उनीपछि ड्राघी सबैभन्दा महत्वपूर्ण नेता हुन् ।'

ड्राघीविना ऊर्जा संकटसँग जुध्न र बढ्दो मुद्रास्फीतिबाट उपभोक्तालाई राहत दिने उपाय अपनाउन इटालीलाई गाह्रो हुने बताइएको छ । ड्राघीले रुसबाट आयात हुने कच्चा तेलको मूल्यमा सीमा तोक्ने योजना अघि सारेको थियो । हालै भएको जी-७ बैठकमा उनको योजनालाई अन्य छ देशका नेताहरूले पनि समर्थन गरेका थिए।

ड्राघीको बहिर्गमनले धेरै विषयमा प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ सक्छ। उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँग सीधा कुरा गर्ने क्षमता भएको नेताको रुपमा हेरिन्छ । त्यसैले उनको पदबाट हटाउनु सम्पूर्ण युरोपको लागि घाटा हुने विश्लेषकहरुले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै