• २०८१ बैशाख ४ मंगलबार

चेल्सीले मेसीलाई रुवाएको त्यो रात !

kharibot

काठमाडौँ । कुरा २०१२ को च्याम्पियन्स लिग सेमिफाइनलको हो । बार्सिलोनाका खेलाडी र क्लबले त्यो रात शायद भुल्न चाहन्छन् । पेप गार्डीओलाको अन्डरमा रेकर्डमाथि रेकर्ड बनाईरहेको बार्सिलोनाले चेल्सीसँग पहिलो लिगमा १-० को हारपछि सेमिफाइनलको दोस्रो लिग खेल्दै थियो । घरेलु मैदानमा हुने दोस्रो लिगमा कमब्याक गर्नेमा बार्सिलोना र म्यानेजर पेप ढुक्क थिए । 

खेल सुरु भयो, सर्जियो बसकोटको गोलबाट अग्रता लियो । एलेक्सिस सान्चेजलाई फाउल हानेपछि चेल्सीका जोन टेरीले रातो कार्ड पाए र बार्सिलोनाले पेनाल्टी पायो र आन्द्रे इनेस्टाले गोलमा परिणत गर्दै पहिलो हाफमा २-० को अग्रता हासिल गर्यो ।

१० खेलाडीमा सिमित चेल्सीले रामिरेजको गोलमा खेलमा पुनरागमन गर्यो । यस खेलले चेल्सीलाई खेलमा फर्काएन मात्र अवे गोलको एडभान्टेज पनि दियो । दोस्रो हाफको तेस्रो मिनेटमै बार्सिलोनाका चेक फाब्रिगासलाई डिडियर ड्रोग्वाले लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो । 

पेनाल्टी हान्न मेसी अगाडी आए तर बल चेल्सीको बारमा लागेर बाहिरियो र चेल्सीले जीवनदान पायो । खेलको अन्तिम समयमा फर्नान्डो टोरेसले गोल गर्दै चेल्सीलाई बार्सिलोनाविरुद्ध २-२ गोलको बराबरी र पहिलो लिगको १-० गोल सहित ३-२ ले समग्रमा पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुर्याए ।

खेल सकियो बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो । यसको तीन दिन अघि मात्र बार्सिलोना आफ्नो प्रमुख प्रतिद्वन्दी रियल म्याड्रिडसँग ला लिगाको खेलमा क्याम्प नाउमै २-१ ले पराजित भएको थियो । दुई ठुला खेलमा पाएको हारले बार्सिलोना, मेसी र म्यानेजर पेपलाई त्यो साता सम्झिन लायक रहेको थिएन ।

सो खेलमा बार्सिलोनाबाट खेलेका एलेक्सिस सान्चेजले हालै एक अन्तर्वार्ताको क्रममा चेल्सीविरुद्धको सो खेलपछि बार्सिलोनाको ड्रेसिङरुममा मेसी रोएको आफुले देखेको बताए । त्यति बेलाको स्मरण गर्दै उनले यो सबै फुटबलको एउटा भाग हो र ठुलो खेल हर्दा दुख लाग्नु स्वाभाविक भएको बताए ।

मेसीले सो बर्ष च्याम्पियन्स लिगबाट बाहिरिनुमा आफुलाई दोष दिएका थिए । महत्वपूर्ण पेनाल्टी मिस गरेर उनले आफुलाई दोषी बनाएका थिए । मेसीको त्यो जिम्मेवारी प्रति म्यानेजर पेपले मेसी त्यसैले नै महान खेलाडी भएको प्रतिक्रिया दिएका थिए । 

म्यानेजर पेपले बार्सिलोनाको त्यो हारले नै आफुलाई बार्सिलोना छोड्न प्रेरित गरेको बताउदै त्यसको तीन दिन पछि बार्सिलोना छोड्ने घोषणा गरेका थिए । यद्यपी त्यसपछि त्यसै बर्ष बार्सिलोनाले को डेल रे १४औ पटक जितेर म्यानेजर पेपको कार्यकालमा ट्रफीको संख्या १९ पुर्याएका थिए ।

यस पटक चेल्सी र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न दोस्रो लिगको खेल बुधबार राति खेल्दै छन् । बार्सिलोनाको घरेलु मैदानमा खेलिने सो खेलले २०१२ को च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लिगको झल्को दिएको छ ।

पहिलो लिगमा १-१ को बराबरीमा रहेका दुवै टिममा बार्सिलोना अवे गोलको आधारमा अलिकति एडभान्टेजमा रहेको छ । बार्सिलोनाको यस सिजनको प्रदर्शन हेर्दा उत्कृष्ट फर्ममा रहेको देखिन्छ । तर ठुलो खेलमा ठुलो दबाब हुने हुनाले यो खेल पनि रोमान्चक हुने देखिन्छ । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै