• २०८१ बैशाख ७ शुक्रबार

बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर

kharibot

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ ।

आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् । 

उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ ।

सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार रु एक सयदेखि रु ४९ हजार ५०० सम्म कायम गरिएको छ ।

यस्तै पाँच लाखसम्म करयोग्य सम्पत्ति भएमा रु एक सय र रु पाँच करोडदेखि माथि भएमा प्रतिहजारको दुईका दरले सम्पत्ति कर तिनुपर्नेछ । 

यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत पाँच सयका दरले रु एक हजार तिर्दै आएकामा चालु आर्थिक वर्षमा रु तीन सयका दरले ६ सय बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखाप्रमुख दामोदर ज्ञवालीले जानकारी दिए ।  

यस्तै, महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । 

त्यसैगरी सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्गमा मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानाएको छ ।  

नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरिने व्यवस्था मिलाइएको ज्ञवालीले जानकारी दिए । 

बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रु ६० करोड राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले राजस्व परामर्श समितिको सिफारिसअनुसार चालु आर्थिक वर्षको राजस्व सङ्कलनको प्रक्षेपण गरिएको बताए । यसअघि ७१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकामा रु ५३ करोड सङ्कलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै