• २०८१ बैशाख ८ शनिबार

गण्डकीमा खानेपानी तथा सरसफाइ विधेयक पारित

kharibot

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले प्रदेशमा खानेपानी तथा सरसफाइलाई व्यवस्थित गर्नका लागि विधेयक ल्याइएको बताए । विधेयक माथिको दफाबार छलफलमा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले खानेपानी र सरसफाइ मानव जीवनका लागि महत्वपूर्ण हुने बताउँदै समृद्ध प्रदेशका स्वस्थ नागरिकका लागि खानेपानी तथा सरसफाइ अपरिहार्य हुने बताए । प्रदेशको एकल अधिकारको प्रयोग गर्दै विधेयक आएको उनले बताए ।

अर्का सदस्य ललितकला गुरुङले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वच्छ पिउने पानीको विषय अत्यन्त महत्वपूर्ण भए पनि विधेयक ढिला आएको बताइन् । विधायन समितिमा यसलाई मसिनोसँग छलफल गरेको उनले बताए  । जनतालाई स्वच्छ पानी पुर्याउनु सरकारको दायित्व भएको बताउँदै उहाँले विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरिन् ।

दिलमाया रोका मगर गौतमले गण्डकी प्रदेशसभाको पाँच वर्षमा विधेयक आउन लागेको बताउँदै यो विधेयक आफैँमा महत्वपूर्ण रहेको बताइन् । विधेयकमा सबै विषय समेटिएको उनले बताइन् । बैठकको शून्य तथा विशेष समयमा सदस्यहरू प्रकाशचन्द्र दवाडी, मीनप्रसाद गुरुङ, जुनादेवी नेपाली, इन्द्रलाल सापकोटाले बाढी पहिराको प्रभाव एवम् समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै