• २०८१ बैशाख १२ बुधबार

लिबियामा इन्धन बोकेको ट्रक विस्फोटमा ६ जनाको मृत्यु

kharibot

लिबिया । लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन् ।

विस्फोटको कारण भने अझै  खुल्न सकेको छैन ।  उक्त ट्रक बेन्ट बयाह जिल्लास्थित पेट्रोल स्टेशनतर्फ जाँदै थियो ।

उक्त विस्फोटपछि नजिक रहेका कारहरूमा आगलागी भएको थियो र ठूलो भागदौड मच्चिएको थियो । 

दक्षिणी लिबियाको मुख्य शहर सेभाको  एक अस्पतालका अधिकारीले एएफपीलाई छ जनाको मृत्यु भएको  पुष्टि गरेका हुन् ।

सो अस्पतालमा ५० भन्दा बढी घाइतेहरू भर्ना  गरिएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको  पनि बताइएको छ ।

अन्तरिम प्रधानमन्त्री अब्दुलहामिद दबेबाले ट्वीट गर्दै सरकारले घटना बारे अनुसन्धान थालेको बताएका छन् ।

‘हामीले घाइतेहरूलाई तत्काल प्रमुख अस्पतालमा लैजान क्राइसिस सेललाई निर्देशन दिएका छौं।"  ट्विटमा  लेखिएको छ ।

लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ  तर छिमेकी देशहरूमा हुने इन्धन तस्करीले पम्पहरू प्रायः  रित्तै रहने गर्दछन् ।

गद्दाफीको सत्ताच्युतपछि लिबिया थप समस्याग्रस्त बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै