• २०८१ बैशाख ४ मंगलबार

बैतडीमा स्वास्थ्य चौकीको व्यवस्थापन समिति गठनमा विवादहुदाँ हातपात

kharibot

बैतडी । बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले आज हातपात गरेका छन् । 

जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयवासीले स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र गाउँपालिकाका नायब सुब्बामाथि हातपात गरेका हुन् । 

निर्देशिकाअनुसार गठन गरेको समिति नमान्ने भन्दै उनीहरुले माइन्यूटसमेत च्यातेको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरियाले जानकारी दिए । बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महतासहित तीन, चारजनाले माइन्यूट च्यातेर आफूहरुमाथि हातपात गरेको शिवनाथ गाउँपालिका नायब सुब्बा वीरसिंह महताले जानकारी दिए ।

उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरिया, वडा नं ४ का वडाध्यक्ष लक्ष्मणसिंह महता र शिवनाथ गाउँपालिकाका नायब सुब्बा वीरसिंह महतामाथि हातपात भएको हो । उनले भने, ‘आफूहरुमाथि हातपात भएपछि गाउँमा काम गर्नै समस्या भएको छ ।’

निर्देशिका अनुसार वडास्तरमा रहेका स्वास्थ्यचौकीको व्यवस्थापन समिति सम्बन्धित वडाको वडा अध्यक्षको अध्यक्षतामा गाउँपालिका अध्यक्ष संरक्षक रहने गरी समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।

हातपात गर्ने समूहले आफूहरुले निर्देशिका नमान्ने बताएको स्वास्थ्यचौकी इन्चार्ज कठरियाले जानकारी दिए । यता बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महताले आफूहरुले कसैमाथि हातपात नगरेको दाबी गरे ।

आफूहरुले प्रक्रियागत हिसाबले बैठक बसालेर समिति गठन गर्न आग्रह गरेको तर उनीहरुले नमानेको र स्वास्थ्यचौकीका अहेव देवराज न्यौपानेले माइन्यूट च्यातेको आरोप उनले लगाए । 

उपभोक्ता समितिका पदाधिकारीहरुको तालीममै स्वास्थ्य व्यवस्थापन समिति गठन गर्न लागेकाले आफूहरुले असहमति जनाएको तर हातपात गरेको आरोप झुठा भएको वडा सदस्य टीकाराम कोलीले जानकारी दिए ।

यसबारे प्रहरीलाई बुझ्दा अहिलेसम्म हातपात भएकोबारे कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै