• २०८१ बैशाख ७ शुक्रबार

आजदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने

kharibot

काठमाडौँ ।  सरकारले आजदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । 

बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने जानकारी दिए । २० वर्ष पुराना सवारी गुडाएमा समातेर कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उहाँले सुनाए । 

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । 

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । 

यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनताको सेवा रोक भन्न नसकिने बताउँदै २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ । 

मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो । 

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले बताए । 

हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै